सन्दर्भ : ७१औँ विश्व कुष्ठरोग दिवस
नेपालमा बर्सेनि बढ्दै कुष्ठरोगी, कुन प्रदेशमा कति बिरामी ?
‘कुष्ठ रोगको सुरुकै अवस्थामा उपचार गरे अपाङ्गता हुनबाट जोगिन्छ’
फाइल तस्बिर

७१औँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गरेको पाइन्छ । 

स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउँछन् । महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९/८० मा देशभर २ हजार ५ सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । 

कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा ४ सय ७१, सुदूरपश्चिम प्रदेशमा २ सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा १ सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या १ सय ८१ रहेको देखिन्छ ।

विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. प्रशन्न नापित सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८/२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको बताउँछन् । रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उनको भनाइ छ । पछिल्लो समय तराई र विशेषगरी मधेस प्रदेशमा कुष्ठरोगका बिरामीको सङ्ख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।



सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी, सर्लाही र धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउँछन् । कार्यकारी निर्देशक सिंह धनुषा, सर्लाही र महोत्तरीमा कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउँछन् । यसबाहेक एनएलआरले पूर्वको कोशी र पश्चिमको सुदूरपश्चिम प्रदेशमा समेत कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । 



‘एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ’, सिंहले भने ।

कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । मिसनले तीनवटै सरकारको सहकार्यमा कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको सिंह बताउँछन् । यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालसमेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ । रासस  

  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार ९:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया