यसरी जान सकिन्छ कम खर्चमा अष्ट्रेलिया

उच्च शिक्षा अध्ययन गर्न विदेश जाने योजना बनाएका विद्यार्थीको पहिलो रोजाई हुन्छ– अष्ट्रेलिया । नेपाली विद्यार्थीमा अष्ट्रेलिया मोह यति छ कि कुनै कारण त्यहाँ जान पाइएन भनेपछि मात्र अन्य देशलाई विकल्पमा राख्ने गरिन्छ । 

अध्ययनका लागि अष्ट्रेलिया जान बर्सेनि ३० देखि ४० हजार जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने गरेका छन् । अष्ट्रेलिया जान चाहने विद्यार्थीको संख्या बर्सेनि बढ्दै गए पनि सबै विद्यार्थीले त्यहाँको शैक्षिक खर्च धान्न सक्दैनन् । जसका कारण विद्यार्थीले आर्थिक समस्या झेल्नु परिरहेको छ । यही कारण अष्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थी मानसिक समस्यामा पर्न थालेको खबर तपाईं–हामीले सुन्दै आएका पनि छौँ ।

अष्ट्रेलिया पुगेपछि भविष्य सुरक्षित हुन्छ भन्ने मानसिकता बनेका कारण नेपालबाट जसरी पनि जाने तर त्यहाँ पुगिसकेपछि आर्थिक व्ययभार मिलाउन नसक्दा विभिन्न समस्यामा पर्ने गरेका छन् । अष्ट्रेलियामा शैक्षिक शुल्क, कोठाभाडा र खानपिनमा कति खर्च लाग्छ ? उक्त खर्च गर्न आफू र आफ्नो परिवार सक्षम छ कि छैन भन्ने कुरालाई ध्यानमा नराखेका कारण विद्यार्थीले विभिन्न समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जना हुने जानकार बताउँछन् ।

नेपालमा पहिलो वा दोस्रो वर्ष अध्ययन गरेर सोही विषय अध्ययन गर्न अष्ट्रेलिया जाँदा विद्यार्थीले प्रत्येक वर्ष करिब २० लाख रूपैयाँसम्म जोगाउन सक्छन् ।

अष्ट्रेलियामा अध्ययन गर्न यतिधेरै खर्च लाग्छ कि त्यो सबै सामान्यतः नेपाली विद्यार्थी र उनका परिवारको आर्थिक अवस्थाले धान्न सक्दैन । अष्ट्रेलियामा अध्ययन गर्न बर्सेनि करिब नेपाली २० देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ । यो त अध्ययन शुल्क मात्रै हो । त्यसबाहेक कोठाभाडा, खानपिन र अन्य खर्चमा धेरै पैसा खर्च हुने गर्छ । त्यसैले आज हामी तपाईँलाई अष्ट्रेलियामा कसरी कम खर्चमा अध्ययन गर्न जान सकिन्छ भन्नेबारे केही जानकारी दिने प्रयास गर्दैछौँ ।  

छात्रवृत्ति



अष्ट्रेलियाको अध्ययन खर्चलाई कम गर्ने सबैभन्दा पहिलो र सहज उपाय हो– छात्रवृत्ति । छात्रवृत्तिबारे अष्ट्रेलिया अध्ययन गर्न जाने जो कोही विद्यार्थीले थाहा पाउनै पर्ने हुन्छ । 

अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयले विद्यार्थीको शैक्षिक योग्यताअनुसार २५ देखि ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइरहेका हुन्छन् । त्यसैले विद्यार्थीले अष्ट्रेलिया जानुअघि त्यहाँको कुन विश्वविद्यालयले कति प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइरहेको छ भन्ने जानकारी लिन आवश्यक हुन्छ ।



आफूले अध्ययन गर्न चाहेको विषयमा कुन विश्वविद्यालयले कति प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइरहेका छन् भन्नेबारे विद्यार्थीले जानकारी लिएर शैक्षिक खर्चलाई कम गर्न सक्छन् ।

त्यस्तै, कुनै विश्वविद्यालयले १०० प्रतिशतसम्म भाइस चान्सलर (उपकुलपति) छात्रवृत्तिसमेत उपलब्ध गराइरहेका हुन्छन् । सक्षम विद्यार्थीले उक्त छात्रवृत्तिमार्फत पनि आफ्नो अध्ययन खर्चलाई कम गर्न सक्छन् । त्यस्तै, अष्ट्रेलिया सरकारले अध्ययनरत विद्यार्थीलाई शैक्षिक अनुदान भनेर आर्थिक सहयोग नै गर्ने गर्छ । ती विषयमा जानकारी राखेर पनि विद्यार्थीले त्यस्ता अवसरमार्फत शैक्षिक शुल्कलाई कम गर्न सक्छन् ।  

सरकारी कलेज

नेपालमा जस्तै अष्ट्रेलियामा पनि निजी र सरकारी शैक्षिक संस्थाहरू छन् । सामान्यतः जुनसुकै देशमा पनि निजी शैक्षिक संस्थाको तुलनामा सरकारीमा लाग्ने शैक्षिक शुल्क थोरै हुन्छ । अष्ट्रेलियामा पनि त्यस्तै सरकारी कलेजहरू छन् । जहाँ तपाईँले निजी शैक्षिक संस्थामा भन्दा कम शुल्कमा अध्ययन गर्न सक्नुहुन्छ ।

विश्वविद्यालय तथा निजी कलेजमा अध्ययन गर्न अष्ट्रेलियामा वार्षिक २५ देखि ३० हजार अष्ट्रेलियन डलरसम्म शुल्क लाग्ने गर्छ भने सोही विषय सरकारी कलेजमा अध्ययन गर्न १८ देखि २० हजार अष्ट्रेलियन डलर लाग्ने गर्छ । त्यसैले विद्यार्थीले अध्ययनका लागि सरकारी शैक्षिक संस्था छनोट गरेर पनि खर्चलाई कम गर्न सक्छन् ।

क्रिकोसको सहायता

विद्यार्थीले क्रिकोस डट एजुकेशन डट एयुको सहायता लिएर पनि आफ्नो अष्ट्रेलिया अध्ययन खर्चलाई कम गराउन सक्छन् । यस वेभसाइटमार्फत् विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको कोर्स, विश्वविद्यालय र शुल्कबारे जानकारी लिन सक्छन् ।

क्रिकोस डट एजुकेसन डट एयुले अष्ट्रेलियाका कुन विश्वविद्यालय तथा कलेजले कुन विषय अध्ययन गर्न कति शुल्क निर्धारण गरेको छ भन्नेबारे जानकारी दिने गर्छ ।  जसले विद्यार्थीलाई शैक्षिक शुल्क तुलना गर्न मद्दत पुग्छ । जसकारण विद्यार्थीले आफ्नो क्षमताअनुसारको शैक्षिक शुल्क भएको कलेज अथवा विश्वविद्यालयमा जान सहयोग पुग्छ ।

कोर्स क्रेडिट

कोर्स क्रेडिटमार्फत पनि विद्यार्थीले अष्ट्रेलिया अध्ययन खर्चलाई कम गर्न सक्छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रक्रिया पूरा गर्न करिब ६ महिनादेखि एक वर्षको समय लाग्ने गर्छ । विद्यार्थीले उक्त समयको सदुपयोग पनि गर्ने र आफ्नो शैक्षिक खर्चलाई पनि कम गर्ने अर्काे उपाय हो– कोर्स क्रेडिट ट्रान्सफर ।

यदि कुनै विद्यार्थी अष्ट्रेलिया पुगेर आईटी शिक्षा अध्ययन गर्न चाहन्छ भने त्यस्ता विद्यार्थीले काठमाडौंको डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्स र मैतिदेवीस्थित सनवे कलेजमा एक वा दुई वर्ष अध्ययन गरेर कोर्स क्रेडिटमार्फत दोस्रो वा तेस्रो वर्षको अध्ययन गर्न अष्ट्रेलिया जान सक्छन् ।

यसरी जाने विद्यार्थीलाई अष्ट्रेलियामा लाग्ने शैक्षिक खर्च त कम गर्छन् नै अन्तर्राष्ट्रिय शैक्षिक प्रणालीबारे जानकारी पनि प्राप्त गर्छन् । जसले विद्यार्थीलाई अष्ट्रेलिया पुगेर अध्ययन गर्न सहज हुन्छ । अष्ट्रेलियामा आईटी क्षेत्रमा अध्ययन गर्न पहिलो वर्ष करिब २८ हजार अष्ट्रेलियन डलर अर्थात करिब २४ लाख रुपैयाँ लाग्छ तर सोही कोर्स नेपालमा ३ देखि ४ लाख रुपैयाँमा अध्ययन गर्न सक्छन् ।

यसरी विद्यार्थीले कोर्स क्रेडिटमार्फत करिब २० लाख रूपैयाँ सिधै बचत गर्न सक्छन् । कोर्स क्रेडिटमार्फत जाने विद्यार्थीले पनि अन्य विद्यार्थी सरह नै त्यहाँको सेवा, सुविधा तथा छात्रवृत्ति प्राप्त गर्ने भएकाले खर्च कम गर्ने सबैभन्दा प्रभावकारी उपाय हो, यो ।

सफ्टवेरिका कलेजमा विद्यार्थीले बिएस्सी (अन्स) इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी, बिएस्सी (अन्स) कम्प्युटिङ्, र बिएस्सी (अन्स) कम्प्युटर साइन्स विथ एआई, कोर्समा एक वा दुई वर्ष अध्ययन गरेर कोर्स क्रेडिटमार्फत दोस्रो अथवा तेस्रो वर्षको अध्ययन गर्न अष्ट्रेलिया जान सक्छन् ।

त्यस्तै, सनवे कलेजमार्फत पनि बिएस्सी (अन्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टिलिजेन्स अध्ययन गरेर  कोर्स क्रेडिटमार्फत अष्ट्रेलिया जान सक्छन् । त्यस्तै आइएलटिएस गरेका विद्यार्थीले सनवे कलेजमा आइएलटिएसमा प्राप्त कोर्सका आधारमा छात्रवृत्तिसमेत प्राप्त गर्छन् । 

कोर्स क्रेडिट ट्रान्फर गर्ने सोच बनाएका विद्यार्थीले यहाँ क्लिक गरेर थप जानकारी लिन सक्नेछन् । 

  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १३:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया