सकियो म्याग्दीको सर्वाधिक ठूलो जलविद्युत् आयोजनाको काम, कहिले जोडिन्छ राष्ट्रिय प्रसारण लाइनमा ?
फाइल तस्बिर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो क्यासकेड जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । 

आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । ‘टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन अनुरोध गरेका छौँ,’ उनले भने । 

बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहवरमा परीक्षणको तयारी गरिएको हो । छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युतगृहसम्म ४ हजार २ सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।  

नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विद्युतगृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुईवटै आयोजनाको विद्युतगृह परिसरमा स्विचार्ड बनाइएको छ । 

नीलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिरोले क्षति पुर्‍याएको थियो । १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन् । नीलिगिरिखोलाबाट उत्पादन भएको बिजुली २ सय २० केभी क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रीडमा जोडिन्छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर दूरीको २ सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । 

नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ । 



९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । मिस्त्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ । रासस    



  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ७:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया