logo-img

सञ्चारमन्त्रीको सुझाब : रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज गराैँ, दलको भजन गाउने भाँडो नबनाऔँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्नुपर्ने दोहोर्याएकी छिन् । उनले रेडियो र टिभी लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसात् गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रूपमा सञ्चालन गर्नुपर्ने पनि बताइन् । 

सिंहदरबारमा मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमलाई कुनै राजनीतिक दलको भजन गाउने भाँडो नबनाउन सुझाव दिइन् । उनले सञ्चारमाध्यम सरकार र जनतालाई जोड्ने माध्यम बन्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘सरकारी सञ्चारमाध्यम कुनैबेला राजनीतिक दलको भजन गाउने भाँडो थिए । अहिले पनि त्यस्तो देखिन्छ । हामी आइसकेपछि पटक-पटक भन्यौँ, सरकारी सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छ । सरकार र जनतालाई जोड्ने माध्यम बन्नुपर्छ न कि राजनीतिक दलको भजन गाउँने भाँडो । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्न छलफल गरौँ । जनताको बुझाइभन्दा फरक तरिकाले लैजान गम्भीर छलफल गरौँ ।’

मन्त्री शर्माले राष्ट्रिय आमसञ्चार नीतिमा राष्ट्रिय प्रसारण सेवा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसात् गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी रुपमा सन्चालन गरिने व्यवस्था रहेको उल्लेख गर्दै यसलाई पनि अहिलेको आवश्यकता र उद्देश्यका आधामा आवश्यक परिमार्जन गर्न आवश्यक रहेको बताइन् ।
 
उनले भनिन्,‘०७३ सालमा राष्ट्रिय आमसञ्चार नीतिमा राष्ट्रिय प्रसारण सेवा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसात् गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी रुपमा सन्चालन गरिने व्यवस्था रहेको छ । त्यो व्यवस्था अनुसार खास गरेर हाम्रा सरकारी मिडियाहरुलाई पनि कसरी जनउत्तरदायी बनाउन सकिन्छ, कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने अनुरुप १५ असार ०७७ मा तत्कालीन सञ्चारमन्त्री युवराज खतिवडाले विधेयक पेस गर्नुभएको रहेछ । त्यो राष्ट्रिय सभाबाट पारित भएर यसपटक प्रतिनिधि सभामा लिएर आयौँ । नौजना सांसदको आधारमा ७६ पटक संशाेधन परेको छ । यो तीनवटै कागजातलाई आधार बनाएर छलफल गर्नुपर्छ ।’
 
मन्त्री शर्माले माघ २२ लाई संसदको अधिवेशन आह्वान भइसकेको स्मरण गराउँदै समितिमा दफावार छलफलकै क्रममा रहेका विधेयकहरु छलफल सकेर संसदमा प्रतिवेदन पेस गर्न आग्रह गरिन् । मन्त्री शर्माले यसअघि पनि नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गर्नुपर्ने आवाज उठाउँदै आएकी छन् ।





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १६:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया