यस्तो छ त्रिवि उपकुलपति छनोटको मापदण्ड, साँच्चै हट्ला त भागबण्डा ?
‘माओवादी केन्द्रनिकट व्यक्ति उपकुलपति नियुक्त हुने सम्भावना’

करिब तीन महिनादेखि उपकुलपतिविहीन रहेको त्रिभुवन विश्वविद्यालयले उपकुलपति पाउन अझै केही समय पर्खनुपर्ने देखिएको छ । कुनै पनि पदाधिकारीको पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भए पनि त्रिविको उपकुलपति समयमै नियुक्त हुन नसक्ने निश्चित भएको छ ।

त्रिवि ऐन २०४९ को दफा २१ (क)मा विश्वविद्यालयका कुनै पदाधिकारीको पद रिक्त भएको तीन महिनाभित्र त्यस्तो पदमा नियुक्ति गरी पूर्ति गर्नुपर्ने उल्लेख छ । तर, यसपटक ‘योग्यतम उपकुलपति नियुक्त गर्ने’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनाका कारण छनोट प्रक्रिया लम्बिएको छ । प्रधानमन्त्री दाहाल त्रिविका कुलपतिसमेत हुन् । 

त्रिविका तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल गत कात्तिक १७ गते सकिएको थियो । त्यसपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्षसमेत रहेका शिवलाल भुसाललाई दिएका थिए ।

भुसालको तीनमहिने जिम्मेवारी यही १७ गते (बुधबार) सकिँदै छ । त्यसपछि थप व्यवस्था नभएमा त्रिवि पूर्ण रूपमा उपकुलपतिविहीन बन्नेछ । उपकुलपति छनोट प्रक्रियामा समय लाग्ने भएका कारण नियुक्त गर्न अझै केही समय लाग्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

गत माघ ८ गतेसम्म उपकुलपतिका लागि विज्ञापन आह्वान गरेको शिक्षा मन्त्रालयले उपकुलपति छनोटको प्रक्रिया अघि बढेको जनाएको छ । त्रिविको उपकुलपति बन्नका लागि दुई महिलासहित ४३ जना व्यक्तिले इच्छा देखाएका छन् । जसमा यसअघि नै विभिन्न विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका अनुभवीदेखि नयाँ अनुहारसम्म रहेका छन् । यसअघिसम्म राजनीतिक भागबन्डाका आधारमा उपकुलपति पाउँदै आएको त्रिविले यसपटक भने खुला प्रतिस्पर्धाबाट प्राप्त गर्दै छ ।

फरकधारसँग कुरा गर्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विश्वविद्यालयमा नयाँले भन्दा पुरानाले नै उपकुलपति बन्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार उपकुलपति छनोटका लागि तय गरिएको मापदण्ड हेर्दा नयाँले भन्दा पुरानाले नै अवसर प्राप्त गर्ने देखिएको हो । 



विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्ने अठोट व्यक्त गर्दै आएका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा यसपटक त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्ने जमर्काे गरिएको हो । तर, उपकुलपतिका लागि दरखास्त दिने अधिकांश उम्मेदवार विभिन्न राजनीतिक दलनिकट भएकै कारण नेताको आशीर्वादले विभिन्न क्षेत्रमा नियुक्ति पाइसकेका व्यक्तिसमेत रहेकाले अहिले नै हाम्रो नभई राम्रोले उपकुलपतिको जिम्मेवारी प्राप्त गर्छ, यसै भन्न सकिने अवस्था छैन ।

सिफारिस समिति गठन



विश्वविद्यालय उपकुलपति नियुक्ति गर्न त्रिवि सहकुलपति अर्थात् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा दुई सदस्यसहितको एउटा सिफारिस समिति गठन भएको छ । उक्त समितिले तीनजना उम्मेदवारको नाम संक्षिप्त प्रतिवेदनसहित कुलपतिसमक्ष सिफारिस गर्नेछ । त्यसरी सिफारिस भएकामध्ये एकजनालाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

यसरी गर्छ समितिले उपकुलपति छनोट

उपकुलपति छनोटका लागि ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८०’ तयार गरिएको छ । जसअन्तर्गत विभिन्न मापदण्ड तय गरिएको छ ।

कार्यविधिको दफा ८ मा उम्मेदवारले पेस गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र, त्रिविको चारवर्षे व्यावसायिक कार्ययोजना र सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि १०० पूर्णांक निर्धारण गरिएको छ । जसलाई विभिन्न आठ शीर्षकमा अंक विभाजन गरिएको छ ।

प्राध्यापक पदमा कार्य अनुभवका अधारमा १० अंक उपलब्ध गराइन्छ । जसअन्तर्गत उच्च शिक्षाको क्षेत्रमा प्राध्यापन गरेबापत प्रतिवर्ष दुई अंकका दरले अधिकतम १० अंक उपलब्ध गराइन्छ । तर, एक वर्षभन्दा कम अवधि प्राध्यापक पदमा काम गरेका उम्मेदवार भने अंक प्राप्त गर्न असक्षम ठहर हुन्छन् । त्यस्तै, विद्यावारिधि उपाधि प्राप्त गरेका उम्मेदवारले थप पाँच अंक प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।

यसैगरी, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेका उम्मेदवारले थप चार अंक प्राप्त गर्नेछन् । उक्त अंकलाई प्रतिवर्षको अनुभवलाई एक अंक उपलब्ध गराइने कार्यविधि रहेकाले अधिकतम चार अंक प्राप्त गर्न उम्मेदवारले चार वर्ष पूरा काम गरेको हुनुपर्नेछ । तर, एक वर्षभन्दा कम समयको अनुभव भएका उम्मेदवारले अंक प्राप्त नगर्ने कार्यविधिमा स्पष्ट उल्लेख छ । त्यस्तै, प्राज्ञिक एवं अनुसन्धानमूलक पुस्तक लेखेर प्रकाशन गरेका उम्मेदवारले थप पाँच अंक प्राप्त गर्नेछन् ।

प्राज्ञिक अनुसन्धानकमूलक परियोजना सम्पन्न गरेका उम्मेदवारलाई ६ अंक उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । जसअन्तर्गत प्रमुख अनुसन्धानकर्ता भएर परियोजना सम्पन्न गरेका उम्मेदवारलाई प्रतिपरियोजना तीन अंकका दरले अधिकतम ६ अंक उपलब्ध गराइने छ भने अनुसन्धान टोली सदस्यका रूपमा कार्य गरेको भए प्रतिपरियोजना कुल तीन अंकमा दामासाहीले हुनआउने अंक प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

यस्तै, विश्वविद्यालयसम्बन्धी सोचपत्रका लागि १५ अंक र त्रिवि चारवर्षे व्यावसायिक कार्ययोजनाको लागि २० अंक गरी जम्मा ३५ अंकभार तोकिएको छ । सोचपत्रका लागि उपलब्ध गराइने १५ अंकलाई पनि सोचपत्रमा उल्लेख गर्नुपर्ने विभिन्न शीर्षकका आधारमा अंकभार विभाजन गरिएको छ । जसअनुसार उम्मेदवारले सोचपत्रमा विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारिताबारे उल्लेख गरेबापत–३ अंक प्राप्त गर्नेछन्, विश्वविद्यालयको सम्पतिको आर्जन, उपभोग र आत्मनिर्भरताबारे उल्लेख गरे–३ अंक, आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको सुदृढीकरण–३ अंक, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास–३ अंक दिने र विश्वविद्यालयको पारदर्शिता तथा जवाफदेहिता सोचपत्रमा उल्लेख गरेबापत थप तीन अंक गरी जम्मा १५ अंक उपलब्ध गराइनेछ । 

त्यस्तै, त्रिविको चारवर्षे व्यावसायिक कार्ययोजनाका लागि जम्मा २० अंक निर्धारण गरिएको छ । उक्त अंकलाई पनि विभिन्न पाँच शीर्षकमा अंक विभाजन गरिएको छ । जसअन्तर्गत त्रिविको विद्यमान अवस्था कार्ययोजनामा उल्लेख गरेबापत तीन अंक, विद्यमान अवस्थामा देखिएका समस्यासहितको छोटो विश्लेषणका लागि पाँच अंक, त्रिविको अन्य विश्वविद्यालयसँगको अन्तरसम्बन्धको विश्लेषण तीन अंक, रणनीतिक सुधार गर्नुपर्ने क्षेत्रको पहिचान गरेबापत चार अंक र त्रिविको समग्र सुधारसहित कार्ययोजनासहितको विवरणका लागि पाँच अंक निर्धारण गरिएको छ ।

यसैगरी, प्रस्तुतीकरणका लागि २० अंकभार छुट्याइएको छ । जसअन्तर्गत उच्च शिक्षासम्बन्धी ज्ञान, त्रिविको सुधारको कार्ययोजना र कार्यान्वयनको स्पष्टता गरेबापत सात अंक दिइनेछ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्याससँग सामञ्जस्यता र विश्लेषण क्षमतालाई आधार मानेर ६ अंक दिइनेछ । नवप्रवर्तन, तार्किक क्षमता र वस्तुनिष्ठताका लागि सात अंक दिइनेछ ।

अन्तर्वार्ताबापत १५ अंक छुट्याइएको छ । जसमा अन्तर्वार्ताकारहरूले प्रदान गरेको अंकको औसत अंक कायम गरी प्राप्तांक कायम हुने कार्यविधिमा उल्लेख छ । अन्तर्वार्ताकारले अंक प्रदान गर्दा यसबापतको जम्मा अंकको सत्तरी प्रतिशतभन्दा बढी र पैँतीस प्रतिशतभन्दा कम अंक दिँदा कारण खुलाउनुपर्ने हुन्छ ।

यसरी अंक विभाजन गर्दा उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको नाम समितिले सर्ट लिस्टमा राखेर सार्वजनिक गर्ने गर्छ । सर्ट लिस्ट प्रकाशन गर्दा आवेदकको एकतिहाई अथवा १५ जना उम्मेदवारको नाम हुनुपर्नेछ । त्यसरी सर्ट लिस्टमा परेका उम्मेदवारलाई तीन दिनको सूचना प्रकाशन गरी समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाउँछ ।

त्यसरी सर्टलिस्टमा परेकामध्येबाट विज्ञहरूसँग आवश्यक छलफल गरेर समितिले तीनजनाको नाम संक्षिप्त प्रतिवेदनसहित सरकारलाई बुझाउँछ । सिफारिस भएका तीनजनामध्येबाट एकजनालाई विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

निष्पक्षतामा आशंका 

यसअघि जुन पार्टी वा गठबन्धन सरकारमा छ, तिनै निकट व्यक्तिले राजनीतिक भागबढडाका आधारमा नियुक्ति पाउँदै आएका थिए । त्रिविको पछिल्लो दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा भाषण गर्दै त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले योग्यताका आधारमा निष्पक्ष नियुक्ति गर्ने घोषणा गरे । सोही आधारमा छनोटको मापदण्ड बनाएर उपकुलपतिका लागि आवेदन माग गरिएको थियो । 

आवेदन दिएकाहरूको नामावली र छनोटको मापदण्ड हेर्दा त्रिविको उपकुलपतिमा नयाँको भन्दा पुरानाकै पल्लाभारी हुने देखिन्छ । यस विषयमा फरकधारसँग कुरा गर्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विश्वविद्यालयमा नयाँले भन्दा पुरानाले नै उपकुलपति बन्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार उपकुलपति छनोटका लागि तय गरिएको मापदण्ड हेर्दा नयाँले भन्दा पुरानाले नै अवसर प्राप्त गर्ने देखिएको हो । 

उपकुलपतिमा उम्मेदवारी दिने अधिकांश व्यक्ति नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस निकट देखिएकाले राजनीतिक भागबन्डाभन्दा माथि उठ्ने सम्भावना न्यून रहेको उनको बुझाइ छ । उपकुलपति छनोटको मापदण्ड हेर्दा माओवादी केन्द्र निकटका व्यक्ति उपकुलपतिमा नियुक्ति हुने सम्भावना रहेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १९:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया