सुदूरपश्चिमविरुद्ध एपिएफको सहज जित, फाइनल सम्भावना जीवितै

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएको छ ।

सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपिएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि सन्दीप जोराले १८, आसिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे ।

सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा ८७ रनमा अलआउट भयो । 

उसका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्नेक्रममा एपिएफका लागि चन्दन रामले पाँच विकेट लिए । 

यस्तै, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे । यो जितपछि एपिएफले ८ खेलबाट कुल १० अंक जोडेको छ । 



सुदूरपश्चिमलाई हराएपछि एपिएफको फाइनल सम्भावना पनि जीवितै रहेको छ । त्यसका लागि अब उसले बाँकी रहेको एक खेल जित्नुका साथै त्रिभुवन आर्मी क्लबले आफ्नो अन्तिम खेलमा हारको सामना गर्नुपर्ने समीकरण बनेको छ । 

अहिले दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलमा १२ अंक छ ।  



  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १३:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया