यू–१९ विश्वकप : बंगलादेशसँग नेपाल पराजित हुनुको मुख्य तीन कारण
फाइल तस्बिर

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल ५ विकेटको पराजित भएको छ । बुधबार राति सकिएको खेलमा नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । 

जारी विश्वकपमा नेपालको यो तेस्रो हार हो । नेपालले समूह चरणमा न्यूजिल्याण्डसँग ६४ रन तथा पाकिस्तानविरुद्ध ५ विकेटको हार बेहोरेको थियो । पहिलो चरणको अन्तिम खेलमा भने नेपालले अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्यो ।

सोही जितका कारण सुपर सिक्सको यात्रा गरेको नेपालले बंगलादेशसँग भने खराब प्रदर्शन गर्‍यो । बंगलादेशले भने यो जितपछि सेमिफाइनल सम्भावना जीवितै राखेको छ । 

उसका लागि आरिफुल इस्लामले अविजित ५९ र जिशन आलमले ५५ रन बनाए । नेपालका लागि स्पिनर सुवास भण्डारीले सानदार बलिङ गरे पनि नेपाल जित निकाल्न भने चुक्यो । उनले ८ ओभरमा ४४ रन दिएर ५ विकेट लिए ।

सुवास भण्डारी, तस्बिर : आइसिसी



त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १ सय ६९ रनमै अलआउट भयो । नेपालका लागि विशालविक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । 

यस्तै, कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बंगलादेशका लागि रोहनत दोल्लाह बोर्सनले सर्वाधिक ४ विकेट लिए ।  



बंगलादेशसँग नेपाल हार्नुकाे मुख्य तीन कारण :

१. कमजोर ब्याटिङ

बंगलादेशविरुद्ध नेपाल हार्नुको प्रमुख कारण खराब ब्याटिङ रह्यो । टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो ओभरमा बिनाविकेट ८ रन जोडेको थियो । तर, त्यसपछि भने नेपाली ब्याटर रन बनाउन संघर्ष गर्न थाले । र, उनीहरू सस्तैमा आउट हुन पुगे । विशेषगरी नेपाली ब्याटर बंगलादेशी फास्ट बलरविरुद्ध निकै कमजोर देखिए । 

बंगलादेशविरुद्ध पनि ओपनिङ ब्याटर अर्जुन कुमाल र विपिन रावलले ठूलो पारी खेल्न सकेनन् । उनीहरूमध्ये अर्जुन १४ र विपिन २ रनमै आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गरेका आकाश त्रिपाठी तीन रनमै पवेलियन फर्किए ।

साथै, तल्लोक्रमका ब्याटर गुलशन झा, दीपक बोहरा र दीपेश कँडेल पनि जम्न सकेनन् । उनीहरू तीनै ३/३ रनमा आउट भए, फलस्वरूप नेपालले बलियो लक्ष्य दिन सकेन । र, नेपाल खेल हार्न पुग्यो । 

२. खराब फिल्डिङ र तीव्र गतिका बलर फ्लप हुनु 

नेपालले बंगलादेशविरुद्ध पनि कमजोर फिल्डिङ गर्‍यो । पटकपटक बंगलादेशी ब्याटरको क्याच छोड्दा नेपाल फराकिलो हार बेहोर्न पुग्यो । र, त्यसको फाइदा बंगलादेशले उठायो । नेपालले समूह चरणमा पनि कमजोर फिल्डिङ गरेको थियो ।

साथै, बंगलादेशविरुद्ध नेपालका तीव्र गतिका बलरको प्रदर्शन निकै कमजोर रह्यो । पाकिस्तान र अफगानिस्तानविरुद्ध घातक बलिङ गरेका आकाश चन्द बंगलादेशविरुद्ध भने फिक्का देखिए ।

उनले यस खेलमा ३ ओभरमा बिनाविकेट ४२ रन दिए । यस्तै, गुलशन झाले पनि सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । उनले ४ ओभरमा बिनाविकेट २९ रन दिए । अर्का तीव्र गतिका बलर दुर्गेश गुप्ताले तीन ओभरमा एक मेडनसहित ११ रन मात्र दिए पनि विकेट लिन सकेनन् ।  

३. गुलशनको खराब लय

नेपाल हारको अर्को कारण हो– अलराउन्डर ​गुलशन झाको खराब लय । विश्वकपअघि धेरैले प्रतियोगितामा गुलशनबाट अलराउन्ड प्रदर्शन देख्न पाइने आशा व्यक्त गरेका थिए । उनले जारी विश्वकपको चारवटै खेलमा निराश बनाए । गुलशनले ब्याटिङ/बलिङमार्फत नै खराब प्रदर्शन गरे ।

उनले यस विश्वकपमा ४ खेलमा २४ रन मात्र बनाएका छन् । साथै, बलिङमा पनि गुलशनले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । उनले बलिङतर्फ ४ खेलमा ३ विकेट मात्र लिएकका छन् ।

गुलशनको खराब लयको निरन्तरताका कारण पनि बंगलादेशसँग नेपालले हार बेहोर्न पुग्यो । नेपालले अब सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा शुक्रबार भारतको सामना गर्ने तालिका छ ।

  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ७:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया