logo-img

आर्मी क्लब प्रधानमन्त्री कपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने
त्रिभुवन आर्मी क्लब, तस्बिर : क्यान

त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी फाइनल प्रवेश गरेको हो ।

उसले अब फाइनलमा उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । गण्डकीले भने सुखद अन्त्य गर्न सकेन । आफ्नो अन्तिम खेलमा आर्मी क्लबले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६८ रनमै अलआउट भयो ।

उसका लागि ईश्वर क्षेत्रीले १६ र करण पंगेनीले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । आर्मी क्लबका लागि स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन मात्र दिएर ४ विकेट लिए । 

यस्तै, जितेन्द्र मुखिया र कुशल मल्लले दुई/दुई विकेट हात पारे । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १ सय ३२ रनमा अलआउट भयो । उसका लागि इमरान शेखले ३४, सोमपाल कामीले २३, कप्तान विनोद भण्डारीले १९, कुशल मल्लले १५, शाहब आलमले अविजित १२ र भीम सार्कीले १० रन जोडे ।   



बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । गण्डकीका लागि विपिन आचार्य, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले दुई/दुई तथा रोशन गौतम र सन्दीप पराजुलीले एक/एक विकेट हात पारे ।



लिग चरणमा आर्मीले ९ खेलमा ७ मा जित र दुई खेलमा हार बेहोर्‍यो । ऊ १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रह्यो । यस्तै, आठौँ स्थानमा रहेको गण्डकीले ९ म्याचमा सातमा हार तथा दुई खेलमा मात्र जित हात निकाल्यो ।    

  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १४:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया