सकियो साउथवेस्टन स्टेट कलेजको १२औँ विज्ञान प्रदर्शनी [तस्बिरहरू]

बसुन्धारास्थित साउथवेस्टन स्टेट कलेजको १२ औँ संस्करणको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट–२०२४ सम्पन्न भएको छ । १८ माघबाट सुरु भएको उक्त प्रदर्शनी विभिन्न कार्यक्रमका साथ आज समापन गरिएको हो ।  

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले उद्‍घाटन गरेको कार्यक्रमलाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समापन गरेका हुन् । प्रदर्शनीमा काठमाडौं उपत्यका भित्रका स्कुल, कलेज, बैंक, अनुसन्धान संस्थालगायत विभिन्न संघसंस्थाहरूले सहभागिता जनाएका थिए । प्रदर्शनीमा ६० वटाभन्दा बढी स्टल राखिएको थियो । जसमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएको विज्ञान र प्रविधिसम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो । 

प्रदर्शनीलाई झन्डै २५ हजार जनाले अवलोकन गरेको कलेजकी इन्टननेशनल रिलेशन को–अर्डिनेटर साथै कार्यक्रमकी संयोजक सरिता शाक्य प्रधानले जानकारी दिइन् ।

प्रदर्शनीका अवसरमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । जसअन्तर्गत चिरायु नेशनल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण र कान्तिपुर जनरल अस्पतालसँगको सहकार्यमा निःशुल्क दन्त तथा आँखा परीक्षण गरिएको कलेजले जनाएको छ । उक्त स्वास्थ्य शिविरबाट प्रदर्शनी अवलोकन गर्न आएका शिक्षक, विद्यार्थी, अभिभावकले लाभ लिएका थिए । 

त्यस्तै, कलेजकै रोबोटिक क्लबसँग मिलेर रोबोटिक प्रस्तुतिकरण र नेपाल एस्ट्रोनोमिकल सोसाइटी र कलेजको एस्ट्रोनोमी एन्ड एस्ट्रो फिजिक्स क्लबको सहकार्यमा सोलार अवलोकन कार्यक्रम र विज्ञान परियोजना प्रस्तुतिकरणले कार्यक्रमको आकर्षण बढाएको थियो । 

प्रदर्शनीको समापन समारोहमा उपस्थित अतिथि तथा सहभागीलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै कलेजका कार्यक्रम निर्देशक टीकाराम महराले साउथवेस्टन स्टेट कलेजले स्थापना कालदेखि नै हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आएको र यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे । ‘आज हाम्रो बाह्रौं शृंखला सम्पन्न भएको छ,’ उनले भने, ‘आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिनेछौँ ।’



विद्यार्थीले प्रदर्शनीमा तयार पारेका प्रोजेक्टहरूले राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘यसको प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूको विशेष ध्यान जानुपर्ने देखिन्छ,’ उनले भने, ‘प्रदर्शनीमा राखिएका ६० वटै स्टलले देशको भविष्य बोकेका छन् ।’

साउथवेस्टन ग्रुपका अध्यक्ष एवं साउथवेस्टन स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले प्रदर्शनीमा सहभागी सम्पूर्ण स्कुल कलेज तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे । साथै, कलेजले स्थापना कालदेखि गर्दै आएको यो प्रदर्शनीमा काठमाडौं उपत्यकाका स्कुल तथा कलेजको झन्–झन् आकर्षण बढ्दै गइरहेकोसमेत उनले बताए ।



 ‘हामीले स्थापना कालदेखि नै विज्ञान प्रदर्शनी गर्दै आएका छौँ आज १२ औँ संस्करणसम्म आइपुग्न सम्पूर्ण विद्यालय तथा कलेजहरूको ठूलो साथ छ,’ सहभागी विद्यालय, कलेज र विद्यार्थीहरूलाई धन्यवाद दिँदै केसीले भने, ‘तपाईंहरूको साथले हामीले आयोजना गर्ने प्रदर्शनी झन्–झन् परिपक्व बन्दै गएको छ ।’ प्रदर्शनीमा एक सय भन्दा बढी विद्यालय तथा कलेजका विद्यार्थी तथा शिक्षकले भ्रमण गरेको उनले बताए । 

अब परीक्षामा ४ जीपीए ल्याउँदैमा विद्यार्थीले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उनको धारणा थियो । त्यसैले अबका विद्यार्थीलाई फर्स्ट होइन फास्ट हुने कुरा सिकाउनुपर्नेमा उनले जोड दिए । ‘अब फर्स्र्ट भएरमात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन । अब जो फास्ट हुन्छ उसले मात्र विश्व प्रतिस्पर्धा गर्न सक्छ,’ उनी भन्दै थिए, ‘हाम्रो शिक्षाले फर्स्ट हुन सिकायो तर फास्ट हुन सिकाएन, त्यसैले युवा जनशक्ति देश छोड्न बाध्य भइरहेका छन् ।’

कार्यक्रममा प्रदर्शनीको निर्णायक समितिका तर्फबाट बोल्दै डा. भीमप्रसाद काफ्लेले प्रदर्शनीमा विद्यार्थीहरूले समाजमा रहेको समस्यासँग विज्ञान तथा प्रविधिको मद्दतले कसरी जुध्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरेको पाइएको बताए । 

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले राज्यले गर्नुपर्ने काम एउटा संस्थागत विद्यालयले गरेर राज्यलाई ठूलो गुन लगाएको बताए । अहिले गरिएको विज्ञान प्रदर्शनी भोलिको सम्पत्ति भएकाले यसलाई अझै प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । 

डा. शर्माले प्रदर्शनीको अवलोकन समेत गरेका थिए । प्रदर्शनीमा विद्यार्थीको प्रस्तुतिमा नयाँ उर्जा पाएको उनले बताए । ‘यो प्रदर्शनीको अवलोकन गर्दा विद्यार्थीहरूमा नयाँ उर्जा पाएँ । जसले यो प्रदर्शनीमा भाग लिनुभयो सबैलाई बधाई दिन चाहन्छु,’ उनले भने, ‘सहभागी विद्यालय तथा कलेजलाई पनि धन्यवाद दिन चाहन्छु ।’ 

कार्यक्रमका सभापति एवं कलेज सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर वासुदेव विष्टले यस किसिमको प्रदर्शनीले विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीहरूलाई अन्वेषण गर्ने कलाको विकास गरेको बताए । 

प्रदर्शनीमा युवा प्रतिभालाई हौसला प्रदान गर्न विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद, प्रसंशापत्र, सिल्ड र मेडलबाट सम्मानित गरिएको थियो । जसअन्तर्गत अन्तरविद्यालय विज्ञान प्रदर्शनी प्रतियोगिताअन्तर्गत कलंकीस्थित पिनाकल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । जसले प्रदर्शनीमा ‘दिदीभाई भान्जा रोबोर्ट’ प्रदर्शन गरेका थिए । यसैगरी, रिपुमर्दिनी सैनिक महाविद्यालयले द्वितिय स्थान हासिल गरेको छ । जसले प्रदर्शनीमा ‘बेबी क्राडल’ प्रस्तुत गरेको थियो । त्यस्तै, त्रियोग माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ । उसले प्रदर्शनीमा ‘वाटर पासिङ पेभमेन्ट’लाई प्रस्तुत गरेको थियो । प्रथम, द्वितीय र तृतीयलाई नगद क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरिएको थियो । 

यसैगरी, अन्तरकलेज विज्ञान प्रदर्शनी प्रतियोगितामा एन्जल हार्ट कलेजले प्रथम स्थान हासिल गरेको छ । उसले प्रदर्शनीमा ‘गन्तव्य इलेक्ट्रिक मोटरसाइकल’ प्रस्तुत गरेको थियो । यसैगरी, किष्ट कलेजले द्वितीय स्थान हासिल गरेको छ । जसका विद्यार्थीले प्रदर्शनीमा ‘क्यान स्याटेलाइट’ सामग्री राखेका थिए । साउथवेस्टन स्टेट कलेजले तृतीय स्थान हासिल गरेको छ । उसले प्रदर्शनीमा ‘शालिक (एआई) टुरिज्म सोलुसन एप’ सामग्री प्रस्तुत गरेको थियो । प्रथम, द्वितीय र तृतीयलाई नगद क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरिएको छ । 

यसैगरी, साउथवेस्टन कलेजभित्रका विद्यार्थीकाबीचमा पनि प्रतिस्पर्धा भएको थियो । जसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरिएको थियो । 

विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आयाम ल्याउने र विद्यार्थीको क्षमता अभिवृद्धि गर्न हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको विज्ञान प्रदर्शनी सोचेभन्दा राम्रोसँग सम्पन्न भएको कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले जानकारी दिए । ‘यो कार्यक्रम सम्पन्न गर्न साथ दिनुहुने काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण विद्यालय, कलेज, विद्यार्थी र अभिभावक यसको धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भने, ‘यो साथ आगामी वर्षमा पनि पाउने अपेक्षा लिएका छौँ ।’ 

दुईदिने कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरेका थिए ।  

  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १७:२४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया