आहा! रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रीस्टार

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित ६ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । वि.सं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल समयमा  रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ ।

प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोलि हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदै छन् । 

त्रिभुवन आर्मी क्लबले हालसम्म चारपटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौँपटक उपाधि नजिक पुगेको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।

थ्रिस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्दछ । मनाङ मस्र्याङदी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रिस्टार । थ्रिस्टारले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने शनिबार भोलि छैटौँ उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ ।

थ्रिस्टार यसअर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ । आर्मी यसअघि वि.सं २०६५, वि.सं २०६६, वि.सं २०७२ र वि.सं २०७५ मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रिस्टार वि.सं २०७५ मा फाइनलमा भिडेका थिए ।

तत्कालीन समयमा  टाइब्रेकरमा थ्रीस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रीस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रीस्टारले वि.सं २०६३, वि.सं २०६७, वि.सं २०६९, वि.सं २०७१ र वि.सं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।



प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रीस्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रीस्टार । प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रीस्टार हुनेछ । 

आर्मीका प्रशिक्षक मेघराज केसी विगतको इतिहासलाई बिर्सँदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताउँछन् । पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुसी दिने आफ्नो योजना रहेको उनले सुनाए । ‘हामी इतिहास दोहोर्‍याँदैनौँ, नयाँ इतिहास रचेर समर्थकलाई खुसी दिनेछौँ,’ उनले भने ।



प्रशिक्षक केसीले फाइनल खेल रोमाञ्चक हुने उल्लेख गरे । टोलीमा केही इन्जुरीको समस्या रहे पनि खेलाडी पर्याप्त रहेको उनले बताए । थ्रीस्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताए ।  

लामा आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने उल्लेख गर्छन् । पोखरामा जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल पुगेको हो । थ्रीस्टारले भने उद्‍घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो । रासस  

  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार १९:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया