स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत

हिमाली जिल्ला मुगुको स्याउ उत्पादन पकेट क्षेत्र मनिने छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका किसानको स्याउ उत्पादनमा ह्रास आएको छ । स्याउ उत्पादनमा कमी आए पनि सरकारले कृषकलाई दिएको अनुदान र बीमा रकम पाएपछि कृषक हर्षित बनेका छन् । 

समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषकहरुको भनाई छ । उक्त पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महसुस भएको बताउँछन् । 

पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य कृषकमा समेत बीमा प्रति आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् । स्याउ फल्ने फूल्ने समयमै छायानाथ रारा नगरपालिका भित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमालगायतका विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका थिए । बीमा गराउनेमा उक्त क्षेत्रका ५ सय ४७ जना कृषकहरु रहेको तथ्यांक छ । 

छायानाथ रारा नगरपालिका ६ का गोविन्द बमले १ सय ६० बोट स्याउको बीमा समयमै गराएको बताए । स्याउ उत्पादन नभए पनि बीमा बापत रकम पाएपछि उनी खुसी लागेको बताउँछन् । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको छ । 

यस्तै, पाँच हजार बर्ग क्षेत्रफल भित्र दुई सय भन्दा बढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छायानाथ रारा नगरपालिका ४ का जयलक्ष्मी भामले लगाएको बगानमा उत्पादन नभएको बताए । असिना पानी र बेमौसमी वर्षात्ले स्याउ उत्पादन निकै घटेको बताएका उनले गत वर्षको चौततिर ८ हजार ५ सय तिरेर १ सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाए । उनले बीमा बापत ४० हजार ४ सय रुपैयाँ बीमा कम्पनीबाट लिएको सुनाउँछन् । समयमै बीमा गर्दा उत्पादन नभए पनि किसानलाई बीमाले निकै राहत दिएकोले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उनी बताउँछन् । 



उन भन्छन्, ‘हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ । गत वर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिए । तर उत्पादन शून्य नै भयो । केही आम्दानी गर्न सकेनौँ । बीमाले राहत भयो । यो वर्ष पनि बीमा गराउने तयारीमा छु ।’



मुगुको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालका भित्रका विभिन्न क्षेत्रका कृषकले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गराउँदै आएका छन् । 

गतवर्षको बेमौसमी वर्षत्ले कसैको बोटमा स्याउको दानै फल्न सकेन भने स्याउ फलेकाहरूको पनि ४० प्रतिशत उत्पादनमा गिरावट देखिएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड मुगुका शाखा प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् । 

भण्डारीका अनुसार सोही आधारमा मुगुका ५ सय ४७ जना कृषकहरूले लगाएका ९० हजार भन्दा बढी स्याउका बोटको बीमा गराएबापत बिमीतलाई १ करोड ८० लाख भन्दा बढी रकम भुक्तानी गरिसकिएको छ ।

‘रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको स्याउ खेती बीमा कृषकले गरेका थिए । यो वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिराखेका छौं,’ प्रमुख भण्डारीले भने । स्याउ खेती बीमा अन्तर्गत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ । 

  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार १६:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया