स्थायी कमिटी बैठकमा माओवादी नेताहरूले भने- ‘पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्छ’
फाइल तस्बिर

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा माओवादी केन्द्रका नेताहरूले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन् । 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरूले जोड दिएका बताए । त्यस्तै, केन्द्रीय समिति १५१ सदस्यीय बनाउनेगरी छलफल भएको पनि उनले जानकारी दिए । 

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । 

त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलका बीचमा घनिभूतरूपमा छलफल भइरहेको पनि अध्यक्ष दाहालले बताएको उनको भनाइ छ ।

शुक्रबारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राखेको सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकमा सचिवहरू गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि धारणा राखेका थिए ।  





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १८:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया