घरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा
फाइल तस्बिर

केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब २ सयको संख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र वडा नं २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो । गत साता घर भित्र नै बँदेल छिरेर टेकबहादुर विक र मङ्गल सुनारको परिवारलाई आतङ्कित बनायो । बेनी–बागलुङ सडकमा चितुवालगायत जङ्गली जनावर गुडिरहेका सवारी साधनमा ठोक्किएर पछिल्लो एकसातायता दुईवटा दुर्घटना भएका छन् । 

यी म्याग्दीमा जङ्गली जनावरले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् । विगत दुई वर्षयता जङ्गली जनावरको आतंक बढ्दै गएपछि पशुचौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन् । 

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । 

जंगल नजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका–१ का तिलमाया पुनले बताइन् । उनका अनुसार पछिल्लो समय चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन् ।

बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्काइएको अन्नसमेत खाने, स्थानीयलाई आतङ्कित बनाउने गरेको पुनले बताए । ‘मान्छेलाई नै आक्रमण गर्न खोज्छन् । अन्नबाली नष्ट गर्नुका साथै स्थानीयमा डर पैदा गरेका छन्,’ जलेश्वरका इन्द्र बरुवालले भने । उनले दैनिकजसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध गरिरहेको बताए ।  



विगतमा देखिने बाँदरजस्तो नभइ कुनै सहरी क्षेत्र वा धेरै मान्छेको हुलमुलबाट ल्याएको जस्तै देखिने बरुवालले बताए । उनका अनुसार एक पटक लखेटेका बाँदर फेरी वस्ती आसपासमा आउने गरेका छन् । समूहमा हिँड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका उनको भनाइ छ ।

जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयबासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन् । पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सर्तकता अपनाउनुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । 



फलफूलको सिजनमा बाँदर वस्तीतर्फ आउने र आतङ्क मच्चाउने गरे पनि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए । धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनको भनाइ छ ।

सापकोटाले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने वा वैकल्पिक पेसा रोज्नुपर्ने बताए । म्याग्दीका बस्तीमा बाँदरको आङ्तकले खेतीपाती र फलफूलको सिजनमा किसान चिन्तित हुने गरेका उनको भनाइ छ ।

बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको आलु किसान बताउँछन् । हुलकाहुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका–१ का किसान टेकबहादुर पुनले बताए । ‘बाँदर र बँदेलले खेतीबाली नष्ट गरेर धेरै क्षति पुर्याइरहेका छन्,’ उनले भने, ‘अझ चितुवाले बाख्रासमेत मार्नेक्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ ।’ 

बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन् । पछिल्लो एकसाता यता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो संख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयको भनाइ छ ।

बेनी नगरपालिका–३ लहरेनीका तिला चर्मकारले गाउँमा खेतीबाली र पशुचौपाया जङ्गली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरु हैरान परेको बताए । ‘दिनमा बाँदरले सताउँछन् । राति चितुवा कति बेला खोरमै आएर बाख्रा, कुखुरा लैजान्छ पत्तो हुँदैन’, उनले भने, ‘यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ ।’  

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सापकोटा जङ्गलमा आहारा कम पाइन थालेकाले पनि जनावर गाउँ तथा वस्तीमा पस्न थालेको बताउँछन् । ‘ यहाँका जङ्गल आसपासका क्षेत्रमा वस्ती विस्तार हुँदा चितुवाको बासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, प्राकृतिक आनिवानीमा परिवर्तनलगायत कारणले चितुवालगायत जङ्गली जनावर आक्रामक बन्दै गएका छन्,’ उनले भने । 

वनजङ्गलमा लागेको डढेलोका कारण अहिले बासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने सापकोटाले बताए । म्याग्दीमा चितुवाको सङ्ख्या बढेकाले आहाराको खोजीमा मानव वस्ती र सडक छेउछाउमा देखिन थालेका स्थानीयले बताएका छन् । 

ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जंगली जनावरबाट जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । जंगली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन् । रासस 

  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १४:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया