logo-img

के हो कपाल प्रत्यारोपण ? कति लाग्छ खर्च ?

पछिल्लो समय युवाहरूमाझ एउटा समस्या देखिन थालेको छ, त्यो हो कपाल झर्ने समस्या । अधिकांशले हिजोआज आफ्नो कपाल झर्दै गइरहेको गुनासो गरिरहेका सुनिन्छन् । 

कपाललाई मानिसको सौन्दर्यको चिह्नका रूपमा लिइन्छ । कपाल झर्ने विभिन्न कारण हुन्छन् । कपालमा गरिने शृंगार खर्चले पनि यसको महत्व दर्शाउँछ । विभिन्न कारणले युवावस्थामै केश झरेर तालुपन समस्या झेल्नेको संख्या पछिल्लो केही वर्षयता बढिरहेको छ । यो समस्या महिलाभन्दा पुरुषमा बढी देखिन्छ । युवा अवस्थामा नै हुने कपाल झर्ने समस्याले गर्दा व्यक्तिको सामाजिक जीवनमा समेत प्रभाव परिरहेको हुन्छ ।

विभिन्न अध्ययनका अनुसार हाल विश्वमा ८५ प्रतिशत पुरुषले सामान्यदेखि जटिल प्रकारको तालुपनको समस्या झेलिरहेको अनुमान गरिन्छ । जसरी तालुपनको समस्या बढ्दै गएको छ, त्यसरी नै कपाल प्रत्यारोपण (हेयरट्रान्सप्लान्ट) प्रविधिको समेत विकास भइसकेको छ । 



कपाल झर्ने समस्यालाई अंग्रेजीमा एलोेपेसिया भनिने छाला तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. कमलराज धिताल बताउँछन् । एलोपेसिया दुई कारणले हुन्छ । 

१ . स्कारिङ एलोपेसिया 

स्कारिङ एलोपेसियामा कपालको जरा मरेको हुन्छ । यस प्रकारको एलोेपेसियामा उपचारपछि फेरि कपाल आउने सम्भावना कम हुन्छ । आगो लागेमा, कपालसम्बन्धी अन्य समस्या वा एलपिपीजस्ता रोगका कारणले कपालकोे जरा मर्ने गर्छ । जरा मरेपछि त्यस्तो ठाउँमा कपाल फर्केर आउँदैैन । यस्तो अवस्थामा कपाल रोप्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।  
 
२. ननस्कारिङ एलोपेसिया



ननस्कारिङ एलोपेसियामाा कपालको जरा मर्दैन । शरीरको कुनै भित्री रोग, थाइराइड, आइरनको कमी, तनावपूर्ण जीवनशैली, चिन्ता, हेमोग्लोबिनको कमी तथा एलोपेसिया एरिटा (कपालमा गोलो चक्काजस्तो) भएर कपाल झर्ने समस्या हुन्छ । यस्तो अवस्थामा कपालको जरा मरेको हुँदैन । कपालको जरा नमर्ने भएको हुँदा उपचार गरेपछि कपाल पलाउने सम्भावना हुन्छ ।

‘कपाल झर्ने समस्या प्रायः महिलाको दाँजोमा पुरुषमा बढी देखिन्छ । पुरुषहरूमा टाउकोको अघिल्लो भागको कपाल झर्ने गरेको देखिन्छ । यस्तो अवस्थालाई एन्ड्रोजेनेटिक एलोपेसिया भनिन्छ,’ डा. धिताल भन्छन्, ‘महिलाको दाँजोमा पुरुषमा टेष्टोरोन हार्मोन बढी हुन्छ । यो हार्मोनले अगाडिको कपालमा असर गर्ने हुँदा अगाडिपट्टि धेरै झर्ने गर्छ । यस हार्मोनले पछाडिको कपाललाई कुनै प्रकारको असर गर्दैन ।’



उनका अनुसार एन्ड्रोजेनेटिक एलोपेसियाको सुरुको अवस्थामा कपालको जरा मर्दैन । उपचार गरेपछि निको हुन्छ । तर, पछि दीर्घकालीन रूपमा स्कारिङ हुन जान्छ । जसको अर्को विकल्प भनेको कपाल प्रत्यारोपण हो ।

कपाल प्रत्यारोपण के हो ?

विश्वमा वा नेपालको जुनसुकै ठाउँमा ९९ प्रतिशतमा एन्ड्रोजेनेटिक एलोपेसियाको कारणले कपाल झरेको अवस्थामा कपाल प्रत्यारोपण गरिन्छ । कुनै पनि व्यक्तिको आफ्नै टाउको पछाडि भागमा रहेको कपाललाई निकालिन्छ । जुन कपाललाई हार्मोनले असर गर्दैन । टाउकोे पछाडि भागबाट निकालिएको कपाललाई अगाडिको भागमा लगाइने डा. धिताल बताउँछन् ।

उनका अनुसार सामान्यता एउटा स्वस्थ मानिसको टाउकोमा अगाडि–पछाडि गरेर करिब एक लाख कपाल हुन्छ । पछाडि भएको ५० हजारमध्ये आवश्यकताअनुसार कपाल निकालिन्छ । कुनै व्यक्तिलाई तीन हजार वा चार हजार आवश्यक पर्न सक्छ । कपाल निकालिएको ठाउँमा कुनै असर पर्दैन ।

कसरी गरिन्छ प्रत्यारोपण ? 

कपाल प्रत्यारोपणका चारवटा चरण छन् । पहिलो चरणमा कपालको डिजाइन गरिन्छ । कपाल कुन ठाउँमा हालिन्छ, त्यस ठाउँमा डिजाइन गरिन्छ । दोस्रो चरणमा कपाल प्रत्यारोपण गर्ने ठाउँमा दुलो पारिन्छ । 

तेस्रो चरणमा पछाडि भाग (डोनर जोन)को कपाललाई निकालिन्छ । चौथो चरण अन्तिम चरण हो । यस चरणमा पछाडिबाट झिकिएको कपाललाई प्रत्यारोपण गरिन्छ । 

कस्ता व्यक्तिले गर्न मिल्दैन ?

स्वस्थ मानिस सबैले कपाल प्रत्यारोपण गर्न मिल्छ डा. धिताल जनाउँछन् । उनका अनुसार कपाल प्रत्यारोपण पच्चीस वर्षदेखि माथिका सबैले गर्न मिल्छ । कपाल प्रत्यारोपण गर्नेमा महिलाको दाँजोमा पुरुष बढी हुने गरेका छन् । यो एक प्रकारको सामान्य कस्मेटिक सर्जरी भएको उनले जानकारी दिए । 

उनका अनुसार कपाल प्रत्यारोण गर्नुपूर्व यसमा विशेष गरेर मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा हुनुपर्छ । अन्य कुनै शारीरिक समस्या, कपालमा गोलो चक्काजस्तो भएको अवस्थामा प्रत्यारोपण गर्न मिल्दैन । कपाल प्रत्यारोपणको समयमा कुनै रोगको औषधि खाइरहेको भए, त्यसलाई छाड्नुपर्ने हुनसक्ने डा. धितालले बताए । 

कपालको आयु कति ? 

टाउको पछाडि रहेको सेफ डोनर जोनबाट निकालिएको कपाल तत्काल झर्दैन । सेफ तथा अनसेफ जोनलाई विज्ञ विशेषज्ञले छुट्याउन सक्छन् । 

‘सेफ डोनर जोनबाट लिएर प्रत्यारोेपण गरिएको कपालको आयु करिब २२ वर्षसम्म हुन्छ । प्रत्यारोपण गरेको कपाल तुरुन्तै झर्ने हुँदैन । यो एक प्रकारको स्थायी र भरपर्दो सर्जरी हो,’ डा. धितालले भने ।

कपाल प्रत्यारोपण खर्च ?

चिकित्सकको क्षमता र क्लिनिकको सुविधाअनुसार यसको खर्च फरक–फरक हुने गरेको छ । कपाल प्रत्यारोपणको समयमा प्रयोग गरिने औषधिसहित सामान्यतया एकदेखि दुई लाख रुपैयाँसम्म खर्च लाग्छ । तर, यसमा पनि कति कपाल रोप्नुपर्ने हो, त्यसअनुसार शुल्क घटबढ हुनसक्ने डा. धितालले जानकारी दिए ।

  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार १८:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया