logo-img

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ५ हजार
फाइल तस्बिर

नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै ५ हजार रुपैयाँ बैंक दाखिला गराउन थालिएको हो ।   

वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई ५ हजार रुपैयाँ जम्मा गर्न लगाएर वडा कार्यालयले थप ५ हजार रुपैयाँ जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।  

उनका अनुसार चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । ‘बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ’, वडाध्यक्ष न्यौपानेले भने, ‘जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।’ 



वडा नं ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्यता धेरै छ । अहिले जन्मिएका बच्चा वयस्क हुँदाका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ । वडा कार्यालय र सम्बन्धित अभिभावकबाट अहिले ५ हजार रुपैयाँका दरमा बैंक खातामा रकम जम्मा हुने भए पनि निकाल्ने समयमा त्यसको सात/आठगुणा बढी पुग्ने जानकारी पाएको उनले बताए ।   

‘वडा कार्यालयले बच्चाको सम्मानमा नगद जम्मा गर्ने कार्यक्रम ल्याएपछि अभिभावकले बच्चा जन्मेको ३५ दिन पूरा नहुँदै जन्मदर्ता गराउन थालेका छन्, बच्चाको जन्मदर्ता र बैंक खाता खोलेर आ–आफ्नो दायित्वको रकम दाखिला गर्ने अभियानमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुने विश्वास छ’, उनले भने ।   

उक्तबापतको लाग्ने बजेट वडा कार्यालयले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ । रासस 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार १५:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया