logo-img

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । 

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । 

दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



रमाइलो माहोल एकाएक शोकमा 

छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो । केटापक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो । आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो । दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो । तर, अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा पर्‍यो । 

आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो । दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ । 



आँबुखैरेनी-६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए । ‘खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ । गाउँ शोकमा डुबेको छ,’ उनले भने । 

गुरुङका अनुसार विवाहका लागि तीनवटा गाडी लगिएको थियो । त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो । ‘दुईवटा गाडी घर पुगिसकेको थियो । आफन्तहरू चढेको बोलेरो जिप दुर्घटना भयो । घाइतेहरू पनि आफन्त नै हुन्,’ उनले भने । 



  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १३:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया