कांग्रेस नेता गणेश लामाको समूहले अपहरण गरेर लेनदेनको कागज गराएको ज्ञानेन्द्र खड्काको आरोप

अमेरिकामा बस्ने गैरआवासीय नेपाली व्यवसायी ज्ञानेन्द्र खड्काले गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर करोडौँको फिरौती रकमबापत कागजात गराएको आरोप लगाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै व्यवसायी खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लामाको समूहले ललितपुरको सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाई करकापमा फिरौतीस्वरूप करोडौँ लेनदेनको कागज गराएको दाबी गरेका हुन् ।

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राख्न केही समय लागेको जनाउँदै घटना सार्वजनिक गर्न केही ढिला भएको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘डकैतहरुलाई पैसा मोह भएजस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । 

पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो । त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दै छु ।’



उक्त घटनाविरुद्ध २८ माघमा उपत्यका अपराध महाशाखामा जाहेरी दिएकोसमेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । फिरौतीस्वरुप अपहरणकारी समूहले २५ लाख रुपैयाँ लिएको पनि व्यवसायी खड्काले खुलाएका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘मलाई मिलापत्र गरौँ, फिरौतीस्वरूप लिएको २५ लाख पैसा पनि फिर्ता दिन्छु, कागज पनि च्यात्छु र कुनकुन कागजमा सहीछाप गर्नुपर्छ गर्छु भनेर पटक–पटक विभिन्न मान्छेबाट खबर पनि पठाएको थियो, तर मैले मलाई यत्रो धम्की, त्रास र मानसिक तनाब दिइसकेपछि धेरै आट र हिम्मत गरेर जाहेरी दिएको हुँ ।’



  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १७:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया