logo-img

कांग्रेसमा काम गर्न नसक्नेलाई विश्राम दिऊँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका छन् । बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन् । 

उनले दाग लागेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताए । उनले काम गर्न नसक्ने मन्त्रीहरूलाई विश्राम दिनुपर्ने पनि बताए । उनले भने,  ‘कतिपय ठाउँमा दाग लागेको छ । दाग हामी आफैँले मेटाउनुपर्छ । हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको कांग्रेसले नेताको नाममा सहकारी ठग्नेहरूलाई ठिक ठाउँमा लिएर आउँछ । जग्गा किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ । नागरिकता किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ । डेलिभरी गर्ने हाम्रो काम हो । जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरूले हिसाब किताब दिन सक्नुपर्छ । प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुसी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ काँग्रेसले ।’ 

महामन्त्री थापाले काम गर्न नसक्ने वडाध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताए ।  यसो गर्न सकेमा कांग्रेसको शक्ति बढ्ने बताए । उनले ०४६ साल पछाडि सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए । 



उनले भने, ‘हामी अहिले सरकारमा छौँ । सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ । जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस् । आम नागरिकहरू आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन् । भ्रष्टाचारीहरू एउटा पनि नउम्कियोस् । ठूलो माछाहरू समातियोस् । यसको निम्ति कानुन बनोस् । बनेको कानुन बदल्नुपर्छ भने बदलियोस् । कांग्रेसको पहलमा हामीले कानुन बनाउने केही पहलकदमीहरू लिएका छौँ । ०४६ साल पछाडि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन होस् भन्ने कानुन नेपाली काँग्रेसको पहलकदमीमा यहीँ संसदबाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ ।’





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार ७:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया