logo-img

नेदरल्याण्ड्सविरुद्ध दबाबमा नेपाल, कुशल भुर्तेल ६६ रनमा आउट
तस्बिर : क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ जारी सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको सातौं विकेट पतन भएको छ । नेपालले सातौं विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनी ३६.३ ओभरमा क्याच आउट भए । 

कुशलले आज ९३ बलमा आठ चौकासहित ६६ रनको पारी खेले । उनले ७७ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका थिए । एकदिवसीयमा कुशलको यो आठौँ अर्धशतक हो ।  



नेपालले छैटौँ विकेटको रूपमा भीम सार्कीलाई गुमायो । उनी शून्यमै बोल्ड भए । नेपाल पाँचौं विकेटको रूपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाउन पुग्यो । उनी २७.४ ओभरमा एक रनमै रनआउट भए । नेपालले चौथो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो ।

उनी २४.३ ओभरमा छक्का हिर्काउने धुनमा १६ रनमा क्याच आउट भए । रोहित अघिल्लो खेलमा पनि यस्तै प्रकारले आउट भएका थिए । आज उनी स्पिनर आर्यन दत्तको बलमा आउट भएका हुन् ।

नेपालले तेस्रो विकेटको रूपमा कुशल मल्ललाई गुमायो । उनी १३औँ ओभरको अन्तिम बलमा २ रनमा एल्बीडब्लू आउट भए । कुशल पनि आर्यन दत्तको बलमा आउट भए । 



नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो । उनी ११औँ ओभरको अन्तिम बलमा ७ रनमा बोल्ड भए । अनिललाई पनि भिभियन किङ्माले पवेलियन फर्काए । नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमायो ।  



उनी ८.३ ओभरमा व्यक्तिगत १७ रनमा आउट भए । आसिफलाई पनि भिभियन किङ्माले आउट गरे । नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज सोमपाल कामी र देव खनाललाई विश्राम दिएर आरिफ शेख र गुलशन झालाई मौका दिएको छ । जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्सले समान तीन म्याच खेल्दा दुईमा हार र एक/एक खेलमा जित निकालेका छन् । नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोर्दा दोस्रो म्याचमा नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो ।   

तेस्रो खेलमा भने नेपालले नामिबियासँग २ विकेटको पराजय बेहोरेको थियो । यस्तै, पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले दोस्रो खेलमा नामिबियाविरुद्ध ७ विकेटको जित निकाल्यो । तर, ऊ तेस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भयो । अंक तालिकामा अहिले नेपाल दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।    
  
नेपालको प्लेइङ–११ :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, आरिफ शेख, करण केसी र ललितनारायण राजवंशी ।

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १२:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया