परराष्ट्रमन्त्रीको दाबी : रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । 

‘लिगल्ली गएको भए हुन्थ्यो । इल्लिगल्ली गएका छन् । जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ,’ परराष्ट्रमन्त्रीले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ, उहाँहरुलाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी हुने छैन । इमानदारीपूर्वक प्रयास गरिरहेको छु, गरिरहने छु ।’ उनले रुसी सेनामा भर्ना भएका परिवारका सदस्यलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । 

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावासले क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए । ‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौंस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ उनले भने । 

परराष्ट्रमन्त्रीले कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवेदन दिएको जानकारी दिए । रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन सम्बन्धित नागरिकका परिवारलाई उनले आग्रह गरे । परिवारका सदस्यले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने मन्त्री साउदले बताए । 

रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो । परराष्ट्रमन्त्रीले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए । भारतले रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको उनले बताए । 

मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय सवालमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्किन दिने विषयमा रुसी सरकारसँग कुरा भएको जानकारी दिए ।  





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार २२:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया