नवाज सरिफका भाइ शहबाज बने दोस्रोपटक पाकिस्तानकाे प्रधानमन्त्री

पाकिस्तानमा शाहबाज सरिफ देशको २४औँ प्रधानमन्त्री बनेका छन् । उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाएका छन् । ९२ सांसदले पिटिआई समर्थक उम्मेदवार उमर अयुबलाई भोट दिएका छन् । राष्ट्रिय सभाका सभामुख अयाज सादिकले निर्वाचनको नतिजा घोषणा गरेका हुन् ।

प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन् । तर, १ घण्टा २४ मिनेटको भाषणको सुरुमै शाहबाजको जिब्रो चिप्लियो । उनले आफूलाई प्रधानमन्त्रीको सट्टा विपक्षी दलको नेता भन्न पुगेका थिए ।

सम्बोधनका क्रममा शाहबाजले भने– ‘इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ । कश्मीरमा मानिस मारिने क्रम जारी छ । प्यालेस्टाइन र कश्मिरीमाथि दमन भइरहेको छ, तर अन्तर्राष्ट्रिय समुदाय मौन छ । हामी सबै मिलेर कश्मिर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ ।’

शाहबाजले भने– नवाजले देश बनाए

यसअघि शाहबाजले भनेका थिए, ‘मेरो दाइ तीनपटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैँमा उदाहरण हो । नवाज शरिफले पाकिस्तान बनाएका हुन् भन्नु गलत होइन । अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन । शाहबाज शरिफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गरे । उनले भने– पिएमएल–एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन् । यस संसदमा पाकिस्तानको राजनीतिक डुंगा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन् । यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पनि पर्छन् ।

शाहबाजले इमरान खान नेतृत्वको सरकारको आलोचना गर्दै इमरानले सम्पूर्ण विपक्षीलाई जेलमा हालेको टिप्पणी गरे । ​शाहबाजले भने– मेरो जेठो दाइ नवाजले देशलाई हानि गर्नेबारे कहिल्यै सोचेका छैनन् । पुरानो शासन (इमरान खानको शासन)लाई उद्धृत गर्दै उनले भने– उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन् ।



शाहबाजको कार्यकाल 

शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रोपटक हो । यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए । आइतबार संसदको सत्र सुरु हुनेबित्तिकै पिटिआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’को नारा लगाएका थिए । जवाफमा पिएमएल–एनका सांसदहरूले ‘नवाज जिन्दावाद’को नारा लगाएका थिए ।



८ फेब्रुअरीमा भएको निर्वाचनपछि नवाज सरिफको पिएमएल–एन र बिलावल भुट्टोको पिपिपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका थिए । यो गठबन्धनले नवाजका भाइ तथा पूर्वप्रधानमन्त्री शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो ।

  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १८:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया