अख्तियारको दबाबपछि प्रचण्ड रणनीति : मुख्यसचिवलाई बिदा बसाउने, स्वास्थ्यमन्त्रीलाई घर पठाउने

मुख्यसचिव वैकुण्ठ अर्याल सोमबारदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उनी बिदामा बस्न लागेका हुन् । 

टेरामक्स प्रविधि खरिदको अनियमितता प्रकरणमा मुख्यसचिव अर्याल पनि मुछिएका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा अर्यालले टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि उनी सोमबारदेखि बिदामा बस्न लागेको सिंहदरबार स्रोतले जनाएको छ । अख्तियारले टेरामक्स खरिद प्रकरणको अनियमितताका सम्बन्धमा सबै अनुसन्धान सकेर मुद्दा दायरको तयारी गरिरहेको छ । 

टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका मुख्यसचिव अर्याललाई अख्तियारले मुद्दा चलाउने तयारी गरेपछि उनी बिदामा बस्न लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार अर्याललाई बिदामा बस्न नभए सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको चेतावनीपछि उनी सोमबारबाट बिदामा बस्न लागेका हुन् । 

उनीसँगै स्वास्थ्यमन्त्री मोहन बस्नेत र पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई समेत अख्तियारले मुद्दा चलाउने तयारी गरेको छ । तर, बहालवाला मन्त्री र मुख्यसचिवलाई मुद्दा दायर गर्दा अनुसन्धान प्रभावित हुने सम्भावनाका कारण अख्तियारले उनीहरूको मार्ग प्रशस्त चाहेको छ ।



मुख्यमन्त्रीलाई बिदामा बस्न निर्देशन दिएका प्रधानमन्त्री दाहालले स्वास्थ्यमन्त्री बस्नेतलाई पनि मन्त्रीबाट हटाउन कांग्रेस सभापति देउवासँग आग्रह गरेको बुझिएको छ । बस्नेतसँगै कांग्रेसका अन्य मन्त्रीलाई पनि बिदा गर्ने मनस्थितिमा देउवा पुगेका छन् । 

त्यसका लागि उनले आफ्ना पार्टीका मन्त्रीहरूलाई आइतबार अपराह्न आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर बहिर्गमनका लागि तयार रहन भनेका थिए । गठबन्धन सरका​र भएकाले आफ्नो मात्र मन जितेर नपुग्ने, प्रधानमन्त्रीको पनि मन जित्नुपर्ने देउवाको भनाइ थियो । 



  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार २३:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया