logo-img

नेपालसँग सिरिज खेल्ने आयरल्याण्डको ‘ए’ टिममा ९ जना सिनियर खेलाडी

आयरल्याण्डको ‘ए’ टिमले नेपाल भ्रमण गर्ने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टेस्ट टिम आयरल्याण्डको ‘ए’ टिमले नेपाल भ्रमण गर्ने भएको हो । यहाँ रहँदा उसले नेपालको सिनियर टोली र ‘ए’ टिमसँग सिरिज खेल्नेछ । 

नेपालको सिनियर टिम र आयरल्याण्ड ‘ए’ ले चैत ११ र १२ गते दुई खेलको टी–२० सिरिज खेल्नेछन् । त्यसपछि नेपालको ‘ए’ टिमले आयरल्याण्ड ‘ए’ सँग तीन खेलको टी–२० सिरिज र तीन खेलकै एकदिवसीय सिरिज खेल्ने तालिका छ ।



नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ ले चैत १५, १६ र १८ गते टी–२० तथा चैत २१, २३ र २५ गते एकदिवसीय म्याच खेल्नेछन् । नेपालसँगको सिरिजका लागि आयरल्याण्डले टिमसमेत घोषणा गरेको छ ।

आयरल्याण्डले आइतबार निल रकको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । आयरल्याण्ड ‘ए’ को टिममा सिनियर टोलीबाट खेलिसकेका ९ खेलाडी समावेश छन् । 

आयरल्याण्ड ‘ए’ का कप्तान निल रक



नेपाल भ्रमण गर्ने कप्तान निल रकसँगै ग्यारेथ डेल्नी, जेम्स म्याक्लम, पिटर मुर, रस अडेएर, स्टेफन डोहेनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज र बेन व्हाइटले सिनियर टिमबाट खेलिसकेका छन् । यस्तै, आयरल्याण्डले पूर्वक्रिकेटर रायन इगल्सनलाई नेपालसँग सिरिज खेल्ने टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

नेपालले आगामी जेठ दोस्रो सातादेखि हुने टी–२० विश्वकपको तयारीका लागि आयरल्याण्ड ‘ए’ सँग घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । त्यसअघि नेपाली टिमले हङकङ भ्रमण गर्नेछ । त्यसका लागि नेपालले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीसमेत घोषणा गरेको छ । 



मुख्य प्रशिक्षक मोन्टी देशाईले हङकङ भ्रमणका लागि आसिफ शेख, अनिलकुमार साह, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई भने टिममा समावेश गरेका छैनन् ।

हङकङमा रहँदा नेपालले पपुवा न्यूगिनी अर्थात् पिएनजी र हङकङसँग  त्रिदेशीय टी–२० आई शृंखला खेल्नेछ । सिरिजअघि नेपाल र हङकङले फ्रेण्डसिप कपअन्तर्गत एक टी–२० आई म्याच खेल्नछन् । यो खेल ९ मार्चमा हुनेछ । 

त्यसपछि नेपालले सिरिजमा  १० मार्चमा हङकङ तथा १२ मार्चमा  पिएनजीसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । हङकङ भ्रमण र आयरल्याण्ड ‘ए’ सँगको श्रृंखला सकाएर नेपाली टिम भारततर्फ लाग्नेछ । त्यहाँ नेपालले बरोडा र गुजरातसँग टी–२० त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ । यो सिरिज ३१ मार्चदेखि ७ अप्रिलसम्म हुनेछ । 

भारतबाट फर्किएपछि नेपाली टोली एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ । प्रिमियर कपमा नेपालले पहिलो खेलमा १२ अप्रिलमा मलेसिया, १३ अप्रिलमा कतार, १५ अप्रिलमा हङकङ र १७ अप्रिलमा साउदी अरेबियाविरुद्ध खेल्नेछ । प्रतियोगिताको उपाधि जित्ने टिम सन् २०२५ को एसिया कपमा छनोट हुनेछ ।  

  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ६:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया