प्रतिक्रियावादीले मलाई सिध्याउने प्रयास गरे, सत्ता सञ्चालन असहज भएकाले नयाँ परिस्थिति बन्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी गडगडाउँदो खोला जस्तो बग्ने नदी भएकाले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने तर्क गरेका छन् । 

राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाएका उनले माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने नभई गडगडाउँदो बग्ने नदी भएको बताए । 

उनले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने भन्दै क्रमभङ्ग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात माओवादी रहेको बताए । 

उनले भने, ‘आजको दिन अलि विशेष दिन भयो । आजको दिन फेरि एक चोटि नयाँ ध्रुवीकरण, नयाँ राजनीति परिस्थिति सृजना भयो, फेरि एउटा उथलपुथल हुने दिन बन्यो । साँचो कुरा हो, माओवादी जहिले पनि सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन । गडगडाउँदो खोला जस्तो बग्ने नदी हो । निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात हो ।’ 

प्रधानमन्त्री प्रचण्डले सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुन आवश्यक रहेको भन्दै  खिइँदै, सुक्दै र एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्न नमिल्ने बताए । उनले आफूलाई प्रतिक्रियावादीहरूले घेरा हालेर सिध्याउने प्रयास गरेको भन्दै त्यस्तो घेरा तोड्दै जाने र आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताए । उनले कांग्रेसको नाम नलिई सँगै रहेर सत्ता सञ्चालन असहज भएकाले नयाँ परिस्थिति बनेको संकेत गरे । 

उनले भने, ‘हामी माओवादी नेपाल राष्ट्र र जनताको घोडा हो । सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुन आवश्यक छ । खिइँदै, सुक्दै एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्ने यस्तो हुँदैन । यो नहुने बुद्धितिर नलागौँ । मैले भनिहालेँ म त म नै हो । म नमर्दा सम्म देशमा उथलपुथल भइराख्छ । मलाई घेरा हालेर सिध्याउन धेरै खोजे तर त्यस्तो घेरा तोड्दै आएका छौं, तोड्दै जान्छौँ।’ 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १५:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया