तीन मन्त्रीले शपथ लिए पनि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरे पनि मन्त्रालय भने आफैँसँग राखेका छन् । यसअघि सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरिएपछि सोमबार तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त बिना विभागीय मन्त्रीहरू पदम गिरी, हितबहादुर तामाङ र डोलप्रसाद अर्यालले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

योसँगै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन पनि गरेका छन् । नयाँ कार्य विभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् ।

प्रधानमन्त्रीले हेर्ने गरी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाइ; कानुन, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपन्छी विकास; खानेपानी; गृह परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुद; रक्षा वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन् ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार २०:३४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया