logo-img

किशोरी हत्या प्रकरण : कुकुर प्रयोग गरी अनुसन्धान सुरु

मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा भएको १५ वर्षीया किशोरीको हत्या घटनाबारे प्रहरीले छानबिन तीव्र बनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार तालिमप्राप्त कुकुर र अनुसन्धान विशेषज्ञको सहभागितामा घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मामा घरमा बस्दै आएकी किशोरीको हिजो राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  



खोटाङको ऐँसेलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता नायव उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धका कारण भएको हुनसक्ने देखिएको जानकारी दिए ।

अनुसन्धानका क्रममा प्रहरीले घरका मानिसहरू, छिमेकी अनि शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीको टोलीका साथै जिल्ला प्रहरी कार्यालय मोरङको टोली समेत परिचालन गरिएको छ ।



यस क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको भनिए पनि प्रहरीले भने सार्वजनिक गरेको छैन । 



  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १३:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया