बिहे गर्न नमान्दा ३८ वर्षीय चौधरीले गरे १५ वर्षीया बालिकाको हत्या

मोरङको पथरी शनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सोमबार राति शौचालय गएकी ज्ञानमती थुलुङ राईको निर्मम हत्या भएको थियो । 

मृतक बालिका पथरी शनिश्चरे नगरपालिका– ७, लामा टोलीस्थित मामाको छोरा (दाजु)को घरमा बस्दै आएकी थिइन् । मोरङ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर ग्रामथान गाउँपालिका– ४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो । 

चौधरीले योजनाबद्ध तरिकाले ज्ञानमतीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाराको सिमरामा घर बनाएर बस्दै आएका चौधरी विवाहित पुरुष हुन् । उक्त व्यक्तिको एक श्रीमती र १४ वर्षीय छोरासमेत रहेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले बताए । 

वैदेशिक रोजगारीका क्रममा दुबई रहेका बेला ज्ञानमतीसँग उनको सामाजिक सञ्जालमार्फत चिनजान भएको र विदेशबाट फर्किएर आएपछि भेटघाट हुने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । 

हत्यापछि फरार चौधरीलाई प्रहरीले गए राति नै बेलबारीस्थित भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको हो । ज्ञानमतीले विवाहको प्रस्ताव अस्वीकार गरेपछि धीरेनले उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 

मृतकको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार २१:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया