सरकारसँग निजी क्षेत्रको आशा : नयाँ सत्ता गठबन्धनले अर्थतन्त्रलाई लयमा ल्याउनेछ

शिथिल अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सत्ता परिवर्तनसँगै लयमा आउन आशा जगाउने विश्वास लिएको छ । मुलुकको अर्थतन्त्र मन्दीउन्मुख भएर गम्भीर संकट आउने अवस्थामा पुगेको बेलामा सत्ता समीकरण परिवर्तनपछि अर्थतन्त्रले पनि लय समात्ने निजी क्षेत्रले अपेक्षा गरेको हो । सत्ता समीकरण अर्थात् गठबन्धन फेरिएसँगै मन्दीउन्मुख अर्थतन्त्र लयमा आउने झिनो आशा पलाएको निजी क्षेत्रका उद्योगी व्यवसायीले बताएका छन् ।  

प्रधानमन्त्री परिवर्तन नभए पनि पछिल्लो एक वर्षमा तीनपटक सत्ता समीकरण परिवर्तन भएको छ । त्यसले राजनीतिक अस्थिरता देखिए पनि नयाँ अर्थमन्त्री र नयाँ समीकरणबाट संकटमा रहेको अर्थतन्त्र पुरानै लयमा आउने अपेक्षा उद्योगी व्यवसायीको देखिएको छ ।

लामो समय सुस्ताएको ऐनको मानिएको नेपाली पुँजीबजारले ११७.७० अंकले वृद्धि भएर नयाँ सत्ता गठबन्धनलाई स्वागत गर्‍यो । मंगलबार भने शेयर बजार सूचक पनि उच्च अंकले गिरावट आएको छ । तर, मन्त्रिमण्डल विस्तारसँगै पुँजीबजारले गति लिने निजी क्षेत्रको अपेक्षा लिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नयाँ अर्थमन्त्री बन्ने सम्भावना बलियो छ । तर, निजी क्षेत्रले पुरानो सत्ता गठबन्धनबाट नभएका र अधुरा काम नयाँ सत्ता समीकरणबाट हुने अपेक्षा राखेको छ । उद्योगी व्यवसायीले मुलुकमा राजनीतिक परिवर्तन धेरै भएको भन्दै अब मुलुकका सबै राजनीतिक दलहरूले आर्थिक सुधारको एजेन्डालाई पहिलो प्राथमिकता राख्न जरुरी रहेको बताए ।

उनीहरूले नयाँ सत्ता समीकरणसँगै शिथिल बनेको अर्थतन्त्रलाई लयमा ल्याएर निजी क्षेत्रको मनोबल उच्च बनाउने पनि आशा रहेको बताए । व्यवसायीहरूले नयाँ सत्ता गठबन्धनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्ने विश्वास रहेको बताए । उनीहरूले प्रधानमन्त्रीदेखि अन्य नेताहरूले मुलुकको अर्थतन्त्र सुधारको लागि नै नयाँ सत्ता गठबन्धन बनाउनु परेको बोल्दै आएकाले केही सुधार हुने आशा र अपेक्षा रहेको उल्लेख गरे । 

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले शिथिल अर्थतन्त्रलाई नयाँ सत्ता गठबन्धनबाट बन्ने अर्थमन्त्रीले लयमा ल्याउने काम गर्ने आशा रहेको बताइन् ।



उनले अर्थतन्त्रमा देखिएको समस्या सुधारको आवश्यकता रहेको बेला नयाँ सत्ता परिवर्तनले केही सुधार हुने आशा जगाएको बताइन् । राणाले निजी क्षेत्रको मनोबल कमजोर मुलुकको अर्थतन्त्र ओरालो लाग्दो अवस्था सत्ता समीकरण परिवर्तनले सुधारको संकेत गरेको पनि बताइन् । 



पूर्वअध्यक्ष राणाले पछिल्लो तीन दशकमा निजी क्षेत्रले सबैभन्दा बढी अप्ठ्यारो महसुस अहिले गरेको भन्दै सत्ता गठबन्धन परिवर्तन भएको अवस्थामा निजी क्षेत्रले केही आशा गरेको उल्लेख गरिन् । उनले वर्षौंदेखि निजी क्षेत्र केही परिवर्तनको आशा बोकेर बसेको धारणा राखिन् । राणाले नयाँ गठबन्धनमा सहभागी भएका पार्टीका नेता र प्रधानमन्त्री स्वयं अर्थतन्त्र सुधार गर्न कोर्स करेक्सन गरिएको बताएकाले पनि  केही परिवर्तन भएर अर्थतन्त्र लयमा आउने आशामा निजी क्षेत्र रहेको बताइन् । 

‘निजी क्षेत्रको मनोबल कमजोर र अर्थतन्त्र शिथिल भएको अवस्थामा केही सुधार हुन्छ की भन्ने आशा गरेका छौँ । वर्षौंदेखि निजी क्षेत्र आशा र केही परिवर्तन हुन्छ भन्ने बसिरहेका छौं । अब केही परिवर्तन हुन्छ की भन्ने लागेको छ । नयाँ गठबन्धनमा सहभागी भएका पार्टीका नेता र प्रधानमन्त्री स्वयम् अर्थतन्त्र सुधार गर्न कोष करेक्शन गरिएको भनेको सुनिएको छ । त्यसले गर्दा पनि केही परिवर्तन हुन्छ की भन्ने आशामा छौँ,’ राणाले भनिन् ।   

उनले सरकारले निजी क्षेत्रलाई साथमा लिएर  हिँड्नसके अर्थतन्त्र सुधार हुने दाबी गरिन् । राणाले सरकारले सबैभन्दा पहिला गिरेको निजी क्षेत्रको मनोबल उकास्न सक्नुपर्ने बताइन् । राणाले सरकारले निजी क्षेत्रलाई सम्मान गर्नसके निजी क्षेत्रको आत्मबल बढ्ने धारणा राखिन् ।  विश्वका अन्य मुलुकमा करदातालाई राज्यले सम्मान गर्ने गरेको भए पनि नेपालमा उद्योगी व्यवसायीलाई त्यो खालको सम्मान अहिलेसम्म गर्न नसकेको धारणा राखिन् ।

‘सरकारले निजी क्षेत्रले दिएका सुझावसहित निजी क्षेत्रलाई साथमा लिएर सरकार हिँड्न सक्यो भने अर्थतन्त्र सुधार गर्नसक्ने आशाहरू पलाएका छन् । सरकारले सबैभन्दा पहिला गिरेको निजी क्षेत्रको मनोबल उकास्न सक्नुपर्छ । निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि सरकारले निजी क्षेत्रलाई सम्मान दिनसक्नुपर्छ । निजी क्षेत्रले कर तिर्ने हो,’ राणाले भनिन्, ‘निजी क्षेत्रले आफ्नो लगानीलाई जोखिम राखेर काम गरिरहेको हुन्छ । नेपालमा हरेक परिस्थितिमा जोखिम लिएर नै काम गरेर मुलुकभित्र रोजगारी सिर्जना गरिरहेको हुन्छ । अर्थतन्त्रमा राजश्व तिरेर योगदान गर्ने भएकाले निजी क्षेत्रले केही चाहेको छैन । सरकारले सम्मान दिए पुग्छ ।’

अर्का उद्योगी व्यवसायी सशीकान्त अग्रवालले सत्ता परिवर्तन भए पनि मुलुकको आर्थिक नीति र संरचना परिवर्तन नभएको भन्दै नयाँ सत्ता समीकरणले शिथिल अर्थतन्त्र सुधारमा आशा पलाएको बताए । उनले विगत एक वर्षदेखि अर्थतन्त्र सुधारमा कुनै उपलब्धि हासिल नगरेको भन्दै नयाँ आउने अर्थमन्त्रीबाट पुराना मन्त्रीले नगरेका र त्रुटीलाई सच्याएर अगाडि बढ्दा अर्थतन्त्रमा सुधार हुने अपेक्षा रहेको बताए ।

अग्रवालले निजी क्षेत्र निरास भइरहेको बेला सत्ता गठबन्धन परिवर्तन हुनु सकारात्मक भएको बताए । उनले कम्तीमा नयाँ सत्ता समीकरणले उच्चरूपमा गिरेको निजी क्षेत्रको मनोबललाई उकास्ने आशा रहेको बताए ।  

उद्योगी सशीकान्त अग्रवाल

‘कम्युनिष्ट सरकार हुँदा पनि उद्योगी व्यवसायीहरू त्रसित हुनुपर्ने वातावरण छैन । निजी क्षेत्रलाई साथमा लिएर मात्रै मुलुकको अर्थतन्त्र सबल सुधार गर्न नीतिलाई आत्मसाथ गरिसक्नु भएको छ । अब मुलुकको अर्थतन्त्रलाई सबल र गतिशील बनाउने विषयमा कांग्रेस र कम्युनिष्ट भन्ने हुँदैन । एक वर्ष नपुग्दै सत्ता समीकरण र मन्त्रीहरू परिवर्तन हुनु मुलुकको लागि नै राम्रो होइन । पाँच वर्षको लागि स्थिर सरकार बन्नुपर्छ,’ अग्रवालले भने, ‘सरकार परिवर्तन भएपनि आर्थिक नीतिमा परिवर्तन नहुने गरी आर्थिक नीतिको मोडल बनाउन आवश्यक छ । त्यसले मात्रै निजी क्षेत्रको मनोबल उच्च बनाउँछ ।’ 

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १३:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया