logo-img

विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड निकासा गरेको छ । 
    
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिए । 

‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
    
नेपाली पुरुष क्रिकेट टोली विश्वकपका लागि छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । सदस्य–सचिव घिसिङले खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिवृद्धि गर्ने विश्वास लिएको बताए । उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्नसमेत आग्रह गरे । 
    
नेपालले घरेलु मैदानमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेटस् (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । 
     
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सञ्चालन हुँदै छ । नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो ।







  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार २०:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया