logo-img

रवि र प्रचण्डलाई बाबुरामको आग्रह- मिटरब्याजपीडितहरूको निश्चित ऋण मिनाहा गरिदिनुहोस्

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उनले यस्तो आग्रह गरेका हुन् । 

उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरू च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहा घोषणा गर्न आग्रह गरे । उनले लिखित तमसुकहरू खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

भट्टराईले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ किसानलाई किन बाँड्न आँट गर्न आग्रह गरे । उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरूको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।



उनले भने, ‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरू बनेका छन् । पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो । तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ ?  मेरा मित्र रविजी हिजो मात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रवि जी तपाईँले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईँहरू परीक्षाबाट उत्तीर्ण हुनुहुनेछ । नत्र जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो हुने खतरा छ । कमरेड प्रचण्डलाई आग्रह गर्दछु । हिजो हामीले जनयुद्धताका जुन जाली तमसुक झुटो तमसुक बनाइएको थियो, त्यो खोसेर च्यातेको, आगो लगाइएको हो की होइन ? अहिले आगो लगाउनुस् र च्यात्नुस् भन्दिन तर अहिले निश्चित सम्मको ऋण मिनाहा तुरुन्तै घोषणा गर्न सक्नुहुन्छ । लिखित तमसुकहरू खिच्नुस् र राख्नुस् ।’

पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरूमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १५:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया