अमेरिकी राष्ट्रपति बाइडेन भन्छन्- विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा रहेको बताएका छन् । राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यतिबेला विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ । यदि कसैले रुसी राष्ट्रपति पुटिन युक्रेनबाट पछि हट्नेछन् भन्ने सोच्छन् भने उनीहरु गलत छन् । म पुटिनलाई भन्न चाहन्छु ‘हामी युक्रेनलाई कहिल्यै त्याग्ने छैनौँ र हामी रूससँग कहिल्यै झुक्ने छैनौँ ।’ 

बाइडेनले युक्रेनका लागि सहयोग जारी राख्न संसदलाई अपिल पनि गरे । आप्रवासीको बारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने- ‘म आप्रवासीहरूलाई ट्रम्पजस्तो राक्षस ठान्दिनँ । उहाँजस्तै, म आप्रवासीहरूले अमेरिकाको रगतमा विष हाल्दै छन् पनि भनी हाल्दिन ।’

उनले मानिसहरूलाई उनीहरूको धर्मको आधारमा प्रतिबन्ध नलगाउने भन्दै संसारको हरेक कुनाका मानिसहरूका लागि अमेरिका सुरक्षित ठाउँ भन्ने विश्वास जगाउनुपर्ने बताए । 
यसै गरी, युक्रेन युद्धमा अमेरिकी सेना नजाने पनि प्रस्ट पारेका छन् । युक्रेनले रुससँग प्रतिस्पर्धा गर्नका लागि हामीसँग हतियारको मामिलामा सैन्य सहयोग मागेको छ । ट्रम्पको नाम नलिई बाइडेनले भने- ‘पूर्व राष्ट्रपतिले रुसलाई नेटो देशहरू विरुद्ध मनोमानी कारबाही गर्न उक्साएका थिए । उनी पुटिनको अगाडि झुके । यस प्रकारको कथन अत्यन्त खतरनाक छ र स्वीकार गरिने छैन ।’

आफू कोरोनाबाट सत्तामा आएको स्मरण गर्दै त्यतिबेला देशको आर्थिक अवस्था नाजुक रहेको र अहिले सरकारले यसलाई फेरि माथि उठाएको दाबी गरे । उनले  मानिसहरू अमेरिकाको अर्थतन्त्रप्रति इष्र्या गर्ने अवस्थामा पुगेको बताउँदै तीन वर्षमा १.५ करोड नयाँ रोजगारीका अवसरहरू सिर्जना गरेको सुनाए ।

इजरायल-हमास युद्धबारे बाइडेनले इजरायलको आफ्नै सुरक्षाको अधिकार रहेको बताउँदै हमास युद्ध अन्त्य गर्न चाहन्छ भने उसले आफ्ना हतियार त्याग्न र कैदीहरूलाई रिहा गर्नुपर्ने कुरामा जोड दिए । 

युद्धमा ३० हजार प्यालेस्टाइनी मारिएका छन् । यीमध्ये अधिकांश हमासका लडाकु होइनन् । यसै गरी इजरायलले मानवीय सहायतालाई गाजा पुग्न अनुमति दिनुपर्ने कुरामा पनि राष्ट्रपति बाइडेनले जोड दिए ।



चुनावी वर्ष भएकाले बाइडेनले आगामी वर्षका लागि सरकारको एजेण्डालाई पनि सार्वजनिक गरेका छन् । अमेरिकी पत्रिका ‘द हिल’का अनुसार आम जनताका लागि नयाँ योजना र विदेश नीतिका विषयमा बढी ध्यान केन्द्रित गरिएको छ । यसका साथै राष्ट्रपतिले भविष्यका चुनौतीहरूको पनि वर्णन गरेका छन् ।



  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १०:३७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया