डोलेश्वरसहित भक्तपुरका शिवालयमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि पर्वका अवसरमा मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि उक्त मन्दिरमा पूजा सुरु भएको र यहाँ दर्शनार्थीको घुइँचो लागेको सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनवीरसिंह प्रधानले बताए ।

उनले मध्यपुरथिमि क्षेत्रमा बसोबास गर्ने स्थानीयसहित बसाइँसराई गरेर आएका देशभरका हिन्दू धर्मावलम्बीलाई दर्शन एवं पूजा गर्ने वातावरण निर्माण गरिएको पनि जानकारी दिए ।

समितिका पदाधिकारी एवं सदस्यले बिहानैदेखि पूजाआजा र दर्शनको व्यवस्थापन गरेका छन् । मन्दिरमा दिनभर हवन तथा पूजा भएको छ भने भारतबाट आएका एक हजार आठ सत्यदेबजी महाराजद्वारा प्रवचन हुने जानकारी पनि दिइएको छ ।

त्यसैगरी भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिको दिन मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको छ ।

डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको र दर्शनार्थीले चारै वटा ढोकाबाट प्रवेश गरेर आफैंले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।



मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उनले बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताए । डोलेश्वरमा अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर भक्तजन आफैंले पूजा एवं दर्शन गर्न पाएका छन् । उनले राति ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको जानकारी दिए ।

आज रातभर जाग्राम बसी धुनी जगाउने व्यवस्था गरिएको छ । नागा बाबासहित तीन सयभन्दा बढी साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको छ । मन्दिरमा आउने भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था पनि गरेका छन् ।



यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो छ । त्यस्तै, सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । रासस    

  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १७:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया