logo-img

सगरमाथा आधार शिविरमा मनाइयो नारी दिवस

१ सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ । विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा आज सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो । उक्त सम्मेलनले जलवायु न्यायका लागि सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ ।  

जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालमा देखिएका असरका बारेमा विभिन्न तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य गरी अघि बढ्ने, जलवायु न्याय, अनुकूलन र न्यूनीकरणका लागि स्थानीयस्तरमा पहलकदमी गर्ने घोषणापत्रमा उल्लेख छ ।

साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने तथा पुनः प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरूक गराउनाका साथै जनचेतना जगाउने घोषणापत्रमा उल्लेख छ ।  



जलवायु परिवर्तनले ल्याएका समस्या समाधानका लागि हिमाल, पहाड, तराई र देशबाहिर रहेका सबै नेपालीसँग हातेमालो गर्ने तथा जलवायु न्यायका लागि समाजका विभिन्न तह र समुदायका महिलासहित सगरमाथा आधार शिविरमा उभिएकोलगायत बुँदा घोषणापत्रमा समेटिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले प्रकृति बचेमात्र प्राणीजगत् रहने भएकाले यो समय प्रकृतिलाई पनि न्याय गर्ने बेला भएको बताए । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी महिला र बालबालिका पीडित रहेकाले यसको न्यूनीकरणमा विश्व समुदाय जुट्नुपर्ने उनको जोड छ । 

मधेसी आयोगका सदस्य रेणुदेवी शाहले हिमालमा देखिएको जलवायु परिवर्तनको असरबाट मधेस पनि अछुतो नरहेकाले न्यूनीकरणका लागि सबै हातेमालो गर्दै एकजुट हुन आह्वान गरे । 



जलवायु परिवर्तनका कारण मधेसको कृषि प्रणालीदेखि त्यहाँका महिलाको जनजीविकामा प्रत्यक्ष असर परेको स्मरण गराउँदै उनले क्षति न्यूनीकरणका लागि हिमाल, पहाड र तराईको साथ अपरिहार्य भएको बताए । रासस



  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार २०:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया