logo-img

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन : नारायणप्रसाद दाहाल

सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन् । 

सोमबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताएका हुन् । उनले आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रूपमा नरहेको उल्लेख गर्दै कानुन अनुरूप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भएको बताए ।

उनले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरूपको स्तरमा पुर्‍याउन आफ्नो भूमिका हुने बताए । उनले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने पनि बताए । दाहालले तत्काल बनाउनुपर्ने कानुनहरूमा ध्यान दिइने बताए । 



उम्मेदवारी पछि उनले भने, ‘म राष्ट्रिय सभामा मनोनीतबाट आएको हो । म कुनै पार्टीबाट आएको होइन, कानुनी रूपमा त्यो छ । यो दुई वर्षमा म बस्दा खेरी पनि अलग्गै बसेँ । पार्टीको बिचमा म बसेको छैन नि । त्यस कारण मलाई अभ्यास भइराखेको छ । पार्टीभन्दा फरक ढंगले नै यहाँ उपस्थित हुँदा । पार्टीको त्यहाँ कुनै छाया आउनुभएन र हाम्रा कुनै अभिव्यक्तिहरू, हाम्रा काम कारबाहीहरू र हाम्रा व्यवहारहरू हिजो पार्टीमा हुँदाभन्दा फरक भइहाल्छ । कानुनी रूपमा चल्नुपर्छ भन्ने म मानसिक रूपमा तयार छु । त्यस कारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन ।’

दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीको प्रस्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा(एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् ।  





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १२:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया