logo-img

रास्वपा सांसद खनालको व्यंग्य : चक्रपथ बनाउन काठमाडौं महानगरसँग सापटी लिए हुन्छ

उपत्यका विकास प्राधिकरणले बजेट अभावमा बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन नसकेकोप्रति सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले बिहीबार प्रतिनिधि सभा बैठकमा चक्रपथ निर्माणमा भएको ढिलाइले स्थानीय वर्षौंदेखि धुलो र हिलोको मारमा परेको भन्दै सरकारलाई महानगरसँग आर्थिक सहयोग मागेर चक्रपथ निर्माण कार्य अगाडि बढाउन व्यङ्ग्य गरे । 

आयोजनाको काम अघि नबढ्दा खनालले सामाखुसी, गोंगवु क्षेत्रका व्यवसायी,स्थानीय बासिन्दा र देशैभरबाट काठमाडौं आउने नागरिक धुलो र हिलोको समस्या भोगिरहेको बताए । 

उनले चक्रपथ निर्माणका लागि आफूले समन्वय गर्ने क्रममा सडक विभागदेखि स्थानीय र ठेकेदारसँग पटक पटक छलफल गरेको उल्लेख गर्दै भने, ‘चक्रपथ निर्माण कार्य चाँडै सकिन्छ भनेको एकवर्ष हुनलाग्यो । स्थानीयको रोष जनप्रतिनिधिमाथि खनिन्छ । सडक विभागको दाबा काम ठेकेदारले गर्नुपर्ने, ठेकेदार भन्छन् सरकारले पैसा दिएन आफ्नो घर बेचेर बनाउन खोज्दा पनि मैले नसक्ने भए,’ उनले थपे, ‘आजित भएर काठमाडौंका मेयर साबले यो सडक त हाम्रो होइन भनेर बोर्ड नै राख्नुभएको छ । सरकारलाई चक्रपथ निर्माण गर्न पैसाको साह्रै गाह्रो परेको भए महानगरसँग सापटी पो माग्ने हो कि !’



लामो समयदेखि अन्योलमा रहेको चक्रपथ निर्माण आयोजनाका लागि सरकारले बजेट सुनिश्चित गर्न नसक्दा प्राधिकरणले काम अगाडि बढाउन सकेको छैन । नेपाल सरकारले आर्थिक वर्ष २०६१/६२ बाट काठमाडौं उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने कार्यक्रमको घोषणा गरी विस्तृत अध्ययन काम अगाडि बढाएको थियो । तर, घोषणा भएको डेढ दशक बित्दा बाहिरी चक्रपथ निर्माण आयोजनाको नाममा मात्रै सीमित बनेको छ । 

प्राधिकरणले चक्रपथ निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/८० बाटै काम सुरु गर्ने तयारी गरे पनि सरकारले बजेटको सुनिश्चित गर्न नसक्दा आयोजना अलपत्र बनेको छ । बाहिरी चक्रपथ निर्माण योजनामा सडकको दुवैतर्फ २५०/२५० मिटर जग्गा एकीकरण गरी वस्तीको विकास गर्ने कुरा समेटिएको छ ।

काठमाडौं जिल्लाका मुख्य स्थान चोभार गाम्चा, सतुङ्गल, सितापाइला, नागार्जुन, नेपालटार, चाली, कपन, जगडोल, थली डाँछीलगायतका स्थानमा चक्रपथको सडक फराकिलो पार्ने योजनामा छ । चक्रपथको लम्बाइ काठमाडौंमा ३५.०८, ललितपुरमा १५.८ र भक्तपुर जिल्लामा २१.०८ गरी कूल ७२ किलोमिटर रहेको छ । 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १२:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया