logo-img

राष्ट्रपतिकै अगाडि किन दिए महन्थ ठाकुरले विद्रोहको चेतावनी ?

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर नेपालमा लोकतन्त्र आए पनि चालचलन गोरखाली सम्राज्यवादको भएको बताएका छन् । सहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित सहिद केशव कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदहरुको उपेक्षा भएको बताउँदै उनले आफूहरुको अपमान गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नआउने बताए । लोकतन्त्रमा जनतामा अधिकार हुने र सबैभन्दा माथि पनि जनता नै रहने उनले बताए । 

‘केही भन्नुपूर्व म निवेदन गर्न चाहन्छु, महोत्तरीको जिल्लाको हाम्रै क्षेत्रको सांसदहरु पनि हामीसँगै आएका थिए । अहिले मैले यहाँ देखिनँ,’ उनले भने, ‘सम्माननीय राष्ट्रपतिजी । यो तपाईंको कार्यक्रम होइन, यो त यहाँका मेयरको कार्यक्रम हो । उहाँकै निमन्त्रणमा म आएको हुँ । अहिले पनि मलाई थाहा थिएन कि यस तरिकाको अपमान हाम्रा सांसदहरुको हुन्छ । जो तपाईंसँगै तपाईको स्वागतका लागि आएका थिए ।’ 



ठाकुरले थपे, ‘उनीहरुलाई औपचारिकताको रुपमा नाम समेत बोइएन । यो के हो । हामी लोकतन्त्रको लागि संघर्ष गरेका हौँ । तर लोकतन्त्रमा जनतामा अधिकार हुन्छ । सबैभन्दा माथि जनता हुन्छन् । अहिले यस्तो लाग्छ, यो नेपाल लोकतन्त्र त छ, गणतन्त्र पनि छ, तर अहिले पनि यहाँको चालचलन गोरखाली सम्राज्यवादको जस्तै छ । मैले यहाँ मेयरसँग बुझ्दा माथिबाटै आएको आदेश भन्नुभयो । सबैभन्दा माथि त हाम्रैसामु हुनुहुन्छ, उहाँभन्दा माथि त संविधानमा नेपालमा कोही छैन ।’

उनले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्नेकुरा गलत रहेको भन्दै कुनै पनि बेला विद्रोह हुनसक्ने चेतावनी दिए । उनले लोकतन्त्र सर्वोपरि भनेकै जनता रहेको जिकिर गरे ।  





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार २१:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया