बचतकर्ताको गुनासो- पहिले सहकारीको करोडौँ पैसा ग्यालेक्सीमा लगाइयो, अहिले जवाफ दिनुपर्नेहरू मौन बसे
बचत रकम फिर्ताको व्यवस्था मिलाइदिन सूर्य दर्शन सहकारीका बचतकर्ताको निवेदन संसदीय समितिमा

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । 

सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने प्रबन्ध मिलाइदिन भन्दै बिहीबार सूर्य दर्शन बचत पीडित सङ्घर्ष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा समक्ष निवेदन दिएका हुन् । 

उक्त सहकारीले १८ हजार सात सय बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भए पनि विगत दुई वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको पीडितहरूले बताएका छन् । 

रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई(जिबी राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । 

सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै उनीहरूले आफूहरूले न्याय पाउनुपर्ने बताएका छन् । पीडितहरूले १९ जनालाई किटानी जाहेरी दिएको भए पनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका बताए । 

त्यस्तै २०८० साल माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भए पनि छानबिन नभएको बताइएको छ । 



पीडितहरूको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राज्यले पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताए । उनले सकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे । उनले गृहमन्त्री रवि लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैँ सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने बताए ।

उनले भने, ‘तपाईँहरूले प्रधानमन्त्रीलाई पनि भेट्नुभएको छ । पीडितहरूको समस्या समाधान गर्नुपर्छ । मैले सुनेको थिएँ, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले नै भए पनि पीडितहरूको समस्या समाधान गर्छौँ भनेर काहीँ बोलेको सुनेको थिएँ । राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो । हामीले पनि सरकारलाई आग्रह गर्नुपर्छ । हामीलाई विश्वास छ, जुनसुकै सरकार भए पनि पीडितको पक्षमा न्याय गर्छ भन्ने विश्वास लिएका छौँ । यी कुराहरू समाधान गर्न सरकारले लागोस् ।’



सभापति खतिवडाले सो निवेदन उपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिने पनि बताए ।  

  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १३:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया