logo-img

रकम अभावमा सिक्टा सिँचाइको काम प्रभावित

निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ ।

बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । 

‘शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम ५८ करोड ८९ लाख रुपैयाँ आवश्यक छ । तर, चालू वर्षमा १३ करोड ४० लाख मात्रै बजेट प्राप्त भएको छ’, निर्देशक निरौलाले भने । 



अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा धमाधम शाखा नहर निर्माण भइरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब ५८ करोड ८९ लाख रुपैयाँ  मुआब्जा रकम बाँड्नुपर्ने भएको छ । ‘सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न सकिएको छैन’, निर्देशक निरौलाले भने । 

चालू आर्थिक वर्ष २०८०/२०८१ का लागि सरकारले आयोजनालाई ७५ करोड ४८ लाख रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये मुआब्जाका लागि १३ करोड ४० लाख रुपैयाँ मात्र छुट्याइएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर सन्देश पौडेलले बताए । 

‘आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ’, सूचना अधिकारी पौडेलले भने, ‘आयोजनाको सुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत भएको छ ।’ 



बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो ।

२०६२/०६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजनाअनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ । संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ हो । रासस  



  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १०:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया