महरा रिहाइपछि गृहमन्त्रीको स्पष्टीकरण : मानवीय संवेदना र करुणाका आधारमा छाडिएको हो
‘झोलामा राजीनामा छ, कांग्रेसलाई जसरी गलहत्याएर निकाल्न पर्दैन'

सुन प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको विषयमा चौतर्फी आलोचना भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले स्पष्टीकरण दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा उनले महरा बिरामी भएकाले उनलाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताए । 

‘राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ,’ लामिछानेले भने, ‘नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’

अदालतले पनि महरा बिरामी भएको कुरा इंगित गरेको उल्लेख गर्दै उनले भने, ‘८–१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ ।  ‘अब कोही व्यक्तिलाई जोगाउने होइन, व्यवस्था, संविधान जोगाउने हो ।’

सत्ता साझेदारीमा रहेका प्रमुख चार दलबीच दोषी जोसुकै भए पनि नछाड्ने सहमति भएको बताउँदै गृहमन्त्री लामिछानेले दोषी कोही नउम्किने र निर्दोष कोही पनि नफस्ने बताए । 

कोही दोषी उम्किने अवस्था आएमा पदमा नबस्ने उनले बताए । आफूहरुलाई नेपाली कांग्रेसलाई जस्तो काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नु नपर्ने उनले बताए । 



अदालतले दिएको ४ दिनको समय सकिएपछि महरा शुक्रबार हाजिरी जमानीमा छुटेका छन् । महरालाई पक्राउ गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागे पनि जिल्ला अदालत काठमाडौंले ४ दिन मात्र समय दिएको थियो । 

गृहमन्त्री लामिछानेले सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री आलोपालो गर्ने कुनै सहमति नभएको दाबी गरे ।



  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १७:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया