वातावरण प्रदूषणले बढाउँदै छ क्यान्सर
महिलाभन्दा पुरुषलाई क्यान्सरको जोखिम

नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा पाँचजनामध्ये एकजना व्यक्तिमा क्यान्सर हुने गरेको छ भने करिब नौ मध्ये एकजना पुरुषमा र १२ मध्ये एक महिलामा क्यान्सर हुने गरेको छ ।

खानपानमा ध्यान पुर्याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका बिरामी बढ्दै गएको चिकित्सकको भनाइ छ ।

समयमा नै पहिचान गरेर सफल उपचार हुने र रोग मुक्त हुन सकिने क्यान्सरबाट नेपालमा बर्सेनि २० हजारले ज्यान गुमाउँछन् । बदलिँदो जीवनशैली, खानपान, वंशाणुगत र सुर्तीजन्य पदार्थको सेवन गर्नेहरू क्यान्सरको उच्च जोखिममा रहने गर्छन् । यस्तै पछिल्लो समय बढ्दो वातावरण प्रदूषण पनि क्यान्सरको कारक तत्व बन्दै गएको क्यान्सर रोग विशेषज्ञहरु बताउँदै आएका छन् ।

नेपालमा क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । तर, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा बर्सेनि २८ हजार क्यान्सरका बिरामी थपिने गरेको बताए । 

उनका अनुसार जसमध्ये २० हजार जति बिरामीको उपचार सफल नभएरै मृत्यु हुन्छ । यसको प्रमुख कारण भनेको ढिलो अस्पताल पुग्ने र त्यस बेलासम्म क्यान्सर जटिल अवस्थामा पुगिसकेको हुँदा सफल उपचार नहुनु नै रहेको डा. शाहीको भनाइ छ ।

‘समयमा नै अस्पताल पुगेर सुरुवाती चरणमा नै क्यान्सर पत्ता लागेमा क्यान्सर पूर्ण रूपमा निको हुन्छ । अहिले झन् यसको उपचारमा नयाँ नयाँ प्रविधि, औषधिहरू थपिँदै गएका छन् । जसले गर्दा क्यान्सर उपचार झनै राम्रो हुँदै गएको छ,’ डा. शाहीले भने, ‘तर हाम्रो देशमा भने बिरामीहरू प्रायः क्यान्सर पहिलो–दोस्रो चरणमा रहेको अवस्थामा भन्दा पनि जटिल बनिसकेको अवस्थामा अस्पताल पुग्ने हुँदा अप्ठ्यारो भइरहेको छ ।’



क्यान्सर लाग्ने मुख्य कारण धूमपान तथा सुर्तीजन्य प्रदार्थको सेवन मानिन्छ । सुर्तीजन्य वस्तुहरूको प्रयोगले मुख, नाक, गला, घाँटी र फोक्सोको क्यान्सरको जोखिम बढी हुन्छ । शरीरको कुनै भागमा भएको घाउ लामो समयसम्म सञ्चो भएन भने त्यसले पनि पछि क्यान्सरको रूप लिन सक्छ ।

अनियमित जीवनशैली, रक्सीको अध्यधिक सेवन र वंशाणुगत कारणले पनि क्यान्सर रोग लाग्छ । तर, पछिल्लो समयमा क्यान्सर बढ्नुको मुख्य कारण वातावरण प्रदूषणसमेत रहेको डा. शाहीको भनाइ छ । वातावरण प्रदूषणले मुख्य गरी फोक्सोको क्यान्सरको जोखिम बढाउने उनले बताए । 



क्यान्सरको शंका लागेमा सकेसम्म स्वास्थ्य संस्थामा चिकित्सकको सम्पर्कमा पुगेर शंकास्पद अंगको बायोस्पी, सिटी स्क्यान, हिस्ट्रो प्याथोलोजी रिपोर्ट लिनुपर्छ । क्यान्सर हो भन्ने पत्ता लागेपछि किमो, रेडियो थेरापीमार्फत लामो समयसम्म उपचार गरिन्छ । यदि शरीरको कुनै भागमा क्यान्सर लागेको छ भने त्यसलाई सर्जरी गरेर फाली अन्य अंगमा सर्नबाट बचाइन्छ ।

रक्त क्यान्सरबाहेक अरू सबै क्यान्सरको उपचारको लागि सर्जरीसँगै आवश्यकता अनुसार किमो र रेडियोथेरापी गर्नुपर्छ । तर, प्रारम्भिक चरणमा नै चिकित्सककोमा पुगेर रोग पहिचान गरेर उपचार गरेमा क्यान्सर पूर्ण निको हुन्छ । ‘क्यान्सर डरलाग्दो रोग होइन । समयमा नै पहिचान गरेमा पूर्ण निको हुन्छ । तर, रोग लाग्नै नदिनतिर हामी लाग्नुपर्छ । त्यसैले सरकारले यसबारेमा रोग लागिसकेपछि उपचार खर्च दिनुभन्दा रोग लाग्नै नदिन जनचेतना फैलाउनु आवश्यक रहेको छ,’ डा. शाहीले भने । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा देखिने सबैभन्दा धेरैमा क्यान्सर फोक्सोको क्यान्सर हो । नेपालमा कुल क्यान्सरका बिरामीमध्ये १२ प्रतिशतलाई फोक्सोको क्यान्सर रहेको छ । 

यस्तै, वीर अस्पतालमा कार्यरत क्यान्सररोग विशेषज्ञ डा. विवेक आचार्यका अनुसार यसबाहेक बाहिर कुनै कारण नदेखिए पनि मानिसलाई क्यान्सर हुन सक्ने उनी बताउँछन् । सुर्तीजन्य पदार्थको सेवन, फलफूल, तरकारीलगायत खाद्यानमा अत्यधिक मात्रामा विषादीको प्रयोग, धुलोधुवाँ प्रदूषण, असन्तुलित आहार, बदलिँदो जीवनशैली, जनचेतनाका कमीलगायतका कारण नेपालमा क्यान्सरको जोखिम बढ्दो छ ।

क्यान्सरबाट बच्न कस्तो जीवनशैली अपनाउने ?

सुर्तीजन्य पदार्थबाट टाढै रहने 

क्यान्सर हुने कारणमध्ये ८० प्रतिशत सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ । त्यसैले सुर्तीजन्य वस्तुको सेवनबाट टाढै रहनुपर्छ । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, किड्नी र गर्भाशयको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । सुर्ती र गुट्खा खाँदा मुख र पाचनग्रन्थीमा क्यान्सर हुन सक्छ ।

मोटोपन नियन्त्रण

मोटोपन पनि क्यान्सर हुनुको एक प्रमुख कारण भएकाले शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्छ । मोटोपनको कारण महिलाहरूमा पाठेघर, मूत्रनली तथा स्तनको क्यान्सर हुने सम्भावना रहन्छ ।

सन्तुलित खानेकुरा   

क्यान्सरबाट बच्नका लागि सन्तुलित खानेकुरा खानु पर्छ । फलफूल, हरियो सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ । सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानुहुँदैन । रासायनिक पदार्थ मिसावट भएका मीठाइ, जंकफुडबाट सकेसम्म टाढै रहेको राम्रो हुन्छ । यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ । स्वाद बढाउनका लागि हानिकारक वस्तु प्रयोग गरिएको हुन्छ ।

  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १७:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया