logo-img

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

समुद्र सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो ।

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृश्यले जोकोहीलाई मोहित बनाउँछ । 

पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँ वर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए ।  



यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउँछन् । उनका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि  छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकाङ्क्षा  पूरा हुने धार्मिक विश्वास छ ।  

गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ । प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ४१ लाख ६३ हजार सात सय रुपैयाँको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा ३५ लाख ९९ हजार एक सय ४१ रुपैयाँको लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताए । ‘गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण भएको छ । यसको थप विकासका लागि योजना बनाउँदैछौँ,’ उनले भने । 



छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट ८ करोड ४७ लाख र सङ्घ सरकारबाट समपूरक कोषअन्तर्गत ८ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौस्थित शर्मा एन्ड काष्ठमण्डप जेभीले ठेक्का पाएको छ । 

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरवास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । 



गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिइन् । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । रासस 

  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार ७:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया