logo-img

चोभार सुक्खा बन्दरगाहमा बढ्यो चहलपहल, व्यवसायी उत्साहित

राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका २ सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउन बन्दरगाह आइरहन्छन् । 

सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो । समुद्रसँग सम्पर्क नभएको हाम्रो देशमा यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दरगाह सबैभन्दा कान्छो, अत्याधुनिक र सुविधायुक्त छ । 

प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र विशुद्ध मालसामान आयात निर्यातसँग मात्र सम्बन्धित छ । यतिमात्र नभइ बन्दरगाहको एक भागलाई व्यवसायीले आफ्ना सामान भण्डारण गरेर राख्न सक्नेगरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ ।



आयात–निर्यातका लागि अत्यावश्यक मानिएका ‘लोड–अनलोड’ गर्ने यन्त्र, तीनलाई राख्ने गोदाम र र्‍याक व्यवस्था गरेर यसअघि भन्सारमा सामानको सुरक्षा सम्बन्धमा उठ्ने गरेका गुनासोलाई सम्बोधन गर्न खोजिएको छ । साथै सिसिटिभी क्यामेरा, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तवरले गरिएको छ । सामानको भन्सार जाँचपास प्रक्रियाका लागि सबै संयन्त्रका साथै बैंक सुविधा पनि यहीँ उपलब्ध छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सयवटा कन्टेनर राख्न सकिन्छ ।  

द्रुतमार्गको प्रतीक्षा 

बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ । त्यसैगरी निर्यात गरिने सामान पनि बन्दरगाहको जाँचपछि सोझै देशबाट बाहिरिने अवस्था हुनुपर्छ । 



‘अहिले त्यसो हुन सकिरहेको छैन । अहिले देशमा आयातित सामान सर्वप्रथम वीरगञ्जलगायत सीमा कार्यालयमा रहेका  भन्सार कार्यालयमा जाँचपास हुन्छन् र काठमाडौं आइपुग्छन् । त्यसरी काठमाडौं आइपुगेका सामानयुक्त कन्टेनरलाई चोभार पुग्नु र पुनः त्यहाँबाट फर्काएर बल्खु हुँदै विभिन्न गन्तव्यतर्फ लैजानु एउटा झैझन्झटको काम भएको छ,’ गजुरेलले भने ।

कार्यकारी निर्देशक गजुरेलले अगाडि थपे, ‘द्रुतमार्ग सञ्चालनमा आएपछि अहिले आयात र निर्यातकर्ताले भोग्नु परिरहेका झन्झटिया प्रक्रिया खारेज हुन्छन् । काठमाडौंबाट तराईलाई जोड्ने ७२ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन छ । यो मार्ग सञ्चालनमा आएपछि सुक्खा बन्दरगाह नजिकबाट तराई (बारा जिल्लाको निजगढ) एक घण्टामा पुग्न सकिन्छ । यसले मालसामान ढुवानीका अधिकांश समस्याको समाधान गर्छ ।’ 



द्रुतमार्गको निर्माण एकातर्फ भइरहँदा बन्दगाहको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर व्यवसायीमैत्री ढंगले चलाउन थालिएको कार्यकारी निर्देशक गजुरेल बताउँछन् । यसका लागि गत वर्षसम्म बन्दरगाहलाई कार्यालय आफैंले व्यवस्थापन गरेकामा यस वर्षदेखि बोलपत्र आह्वान गरेर त्यसको व्यवस्थापन निजी क्षेत्रबाट हुन थालेको छ । 

ट्रान्स नेपाल टिआरएस लोजीपार्कले बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधि हरिश जोशीका अनुसार बन्दरगाहको प्रयोगका लागि निजी क्षेत्र क्रमशः उत्साहित बन्दै जान थालेका छन् । वार्षिक ३ करोड रुपैयाँ बुझाउने गरी बन्दरगाहको व्यवस्थापन गरिरहेको छ । कार्यकारी निर्देशक गजुरेल यसलाई समृद्धिका लागि निजी क्षेत्रसँग गरिएको वास्तविक हातेमालो भन्न रुचाउँछन् ।   

पहिलोपटक चोभार बन्दरगाह प्रयोग गरेका व्यवसायी पनि उत्साहित भएका छन् । इटालीबाट आयातित सामानको भन्सार जाँचपासका लागि त्यहाँ पुगेका एभेन्यु ट्रेड कन्र्सनका सञ्चालक विभोरकुमार अग्रवाल मुख्य कारोबार थलो (काठमाडौं उपत्यका) नजिकै भन्सार जाँचपास गर्न पाउँदा सहज भएको बताउँछन् । 

‘यसअघि हामीलाई भन्सार जाँच प्रक्रिया सम्पन्न गराउन यहाँबाट वीरगञ्ज गइरहनुपर्ने र सम्बन्धित ठाउँमा आफ्नो सामानबारे प्रष्ट पार्न नपाउने समस्या हुन्थ्यो । चोभारबाटै भन्सार पास हुने भएपछि धेरै सजिलो भएको छ’, उनले भने । भन्सारसम्बन्धी सबै प्रक्रिया अपनाउँदा सीमानाकाको भन्दा करिब १२ दिन चाँडो भन्सार जाँच भइसक्ने अनुभव उनले सुनाए । रासस     

  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार ९:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया