logo-img

दूतावासलाई परराष्ट्रमन्त्री श्रेष्ठको निर्देशन- आर्थिक कूटनीति प्रभावकारी बनाउनू

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिमा ध्यान दिन ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई निर्देशन दिएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले चीनका सिजाङ्ग (ल्हासा) मा रहेको नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रममा मुलुकको समृद्धिमा आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताए ।  

मुलुक आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेकाले यसलाई ठोस नतिजामा पुर्याउन र यसलाई मूर्तरूप दिन ठोस योजनाबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘ठोस नतिजा देखिने र द्रुत प्रगति हुने काममा योजनाबद्ध भई काम गर्न दूतावासले आर्थिक कूटनीतिलाई अधिकतम प्रयोग गर्नुपर्छ ।’ 

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र परस्पर लाभको पक्ष प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्नेमा उनले जोड दिए । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा भएका उच्चस्तरका भेटमा आर्थिक सहयोग अभिवृद्धिलाई मुख्य केन्द्रमा राखिएको बताए । 



नेपालको प्रत्यक्षरूपमा तिब्बतसँग जोडिएका नाका र यसका अतिरिक्त छोङछिङ, सिचुवान र तिब्बतलाई नेपालको विकाससँग सम्बन्धित नेपाल चीन आर्थिक करिडोरका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, ‘मुलुकमा लगानी तथा व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहयोगमा दूतावासले महत्त्वपूर्ण योगदान गर्नुपर्ने आवश्यकता छ ।’ 

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलन बनाउने काममा वर्तमान सरकार तुलनात्मक रूपले सफल भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकार आर्थिक विकासको प्रक्रियालाई तीव्र र मूर्त बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा महावाणिज्यदूत नवराज ढकालले नेपाल र चीनको व्यापार मूलतः तिब्बतमा अवस्थित स्थलमार्गबाट हुने गरेको जानकारी दिँदै व्यापार सहजीकरणमा दूतावासले भूमिका निर्वाह गर्दै आइरहेको बताए । नेपालका तर्फबाट विभिन्न समयमा भइरहेका उच्चस्तरका भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले उच्चस्तरीय भ्रमणबाट व्यापार तथा वाणिज्य र लगानी प्रवर्द्धन गर्न सघाउ पुगेको बताए । 



नेपाली व्यापारीहरूको स्थायी प्रकृतिको बसोवास मुख्यतः ल्हासामा नै रहेको जानकारी दिँदै महावाणिज्यदूत ढकालले नेपाल र चीनबीचका जनताबीच हुने सांस्कृतिक, सामाजिक तथा धार्मिक सम्बन्ध तिब्बत र नेपालको उत्तरी भू–भागकाबीच रहेको बताए । चीन सरकारले नेपाल सरकारलाई दिने अधिकांश अनुदान सहयोग कार्यान्वयनको जिम्मा तिब्बत स्वायत्त सरकारलाई नै दिने गरेको उनको भनाइ छ । रासस 



  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार २२:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया