तस्करी र राजस्व चुहावट नियन्त्रणमा गृह मन्त्रालय निर्मम छः गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजस्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

सीमा वा विमानस्थलमा जहाँ भए पनि तस्करी नियन्त्रण, राजस्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको उनले दाबी गरे । आमनागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको उनले बताए । 

इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौती रहेको बताउँदै उनले इलाममा आत्महत्याको तथ्यांक पनि डरलाग्दो आएको बताए । यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । स्थानीय र राष्ट्रिय चुनौतीहरुसँग जुध्नका लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको उनले बताए । 

उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताए । 

‘इलाममा घण्टी बजिसक्यो’ 

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । 



शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो । पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरे । 

कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे । उनले इलाममा परिवर्तनको घण्टी बजिसकेको बताए । 



  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १७:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया