फेरि एमालेसहितको वामपन्थी एकता गर्ने प्रधानमन्त्री प्रचण्डको धोको

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उनको भनाइ छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरुलाई एकताबद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गरे । त्यस अवसरमा उनले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गरे । आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रधानमन्त्री दाहालको जिकिर थियो ।

‘हाम्रै पालामा समाजवादी क्रान्तिको विचारको पनि विकास हुन्छ । समाजवादी क्रान्तिको मौलिक बाटोको पनि खोजी हुन्छ । र हामी त्यो बाटोमा हिँडछौं,’ उनले भने, ‘र म सबै कमरेडहरुलाई एकताको वातावरण बनाउनका लागि किनकि एकतामा नै शक्ति हुन्छ ।’

०७४ को चुनावअगाडि आफूले नै देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौँ भनेर प्रस्ताव गरेको स्मरण गर्दै उनले भने, ‘त्यसले झन्डै दुई तिहाईमा वामपन्थीलाई पुर्याइ पनि दियो । तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं । तर आज हामी फेरि त्यतैतिर फर्कंदै छौँ ।’

प्रचण्ड थाक्यो कि, स्खलित भयो कि भन्ने नठान्न आग्रह गर्दै उनले भने,‘अन्तिम समयसम्म पनि मेरो त अब झन् केही पनि छैन । क्रान्तिबाहेक केही पनि छैन । त्यसकारण यो कुराको गहिराइलाई आत्मासात गरौँ । एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं । हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्न सक्छौँ ।’





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १७:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया