logo-img

बालुवाटारमा निरन्तर छलफलमा दाहाल, ओली र देउवा, के हुँदै छ ‘उथलपुथल’ ?

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा निरन्तर विरोध गरिरहेको छ । उसको विरोधले बैठकको नियमित कार्बाही प्रभावित पनि भइरहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारीको अनियमित आर्थिक कारोबारसँग जोडिएकाले त्यसको छानबिन गर्न माग गर्दै कांग्रेसले विरोध सुरु गरेको थियो ।

एमाले र माओवादीको उच्च नेतृत्वमा नयाँ गठबन्धन बनाउने सहमति भएपछि गृहमन्त्रीको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिएर अहिलेको सरकार बनेको हो । त्यस लगत्तै कांग्रेस प्रमुख प्रतिपक्षको स्थानमा सरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल गठबन्धनको  मुख्य दल एमालेको नेतृत्व र प्रमुख प्रतिपक्ष कांग्रेसको शीर्ष नेतृत्वसँग समानान्तर रूपमा संवाद अघि बढाइरहेका छन् । साथै गठबन्धनका सदस्य दलहरूसँग पनि उनले संवाद जारी राखेका छन् । 



हालै मात्र प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक्लै भेटेका छन् । दाहाल र देउवाबीचको भेटको सन्देश दुवै पक्षले गोप्य राख्न रुचाएका छन् । प्रधानमन्त्री दाहालले त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि एक्लै संवाद गरेका छन् । यो संवादको विवरण पनि सार्वजनिक गरिएको छैन । 

शनिबार साँझ भने शीर्ष तहका तीनै जना नेता सँगै बसेर संवाद गरेका छन् । दाहालकै संयोजनमा देउवा र ओली बालुवाटार पुगेका थिए । तीन नेताबीच के विषयमा चर्चा भयो भन्ने पनि गोप्य नै राखिएको छ ।

सिलसिलाबद्ध भएका संवादहरूमध्ये तीन नेता बसेको बैठक भने प्रतिनिधि सभाको बैठक सहज बनाउने बारेमा केन्द्रित भएको अनुमान गरिएको छ । देउवा बाहेकको बैठक भने आगामी उपनिर्वाचनमा हुने सम्भावित सहकार्यमा पनि केन्द्रित रहेको बुझिएको छ ।



नेतृत्व तहमा भइरहेका भेटवार्तालाई गठबन्धनभित्र सुरु भएको खटपटको सङ्केतका रूपमा पनि अर्थ लगाउन थालिएको छ । कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताले वर्तमान गठबन्धनको निरन्तरतामाथि धावा बोल्दै चाँडै नयाँ गठबन्धनको सरकार बन्ने भविष्यवाणी गरेकाले प्रधानमन्त्री दाहाल बढी छटपटीमा परेको बताइन्छ । कांग्रेस नेता शेखर कोइरालाले त आफ्नो पार्टी र एमालेबीच सहकार्य हुने दाबी नै गरेकाले राजनीतिक वृत्त बढी तरंगित हुन पुगेको हो । 

त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले शनिबार पत्रकारहरूसँग वर्तमान गठबन्धन बढीमा चार महिनामात्र टिक्ने घोषणा गरिदिए ।  कांग्रेसका महामन्त्रीहरु पनि यही सन्देश दिइरहेका छन् ।



गठबन्धनमै रहेको एकीकृत समाजवादी पनि सन्तुष्ट नरहेको सन्देश प्रवाह गरिरहेको देखिन्छ । अध्यक्ष माधवकुमार नेपाललाई आलोपालो प्रधानमन्त्री बनाउने उधारो आश्वासन मात्र दिइएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट  देखिन्छ । अध्यक्ष नेपालले गठबन्धन बन्दै गर्दा आफूलाई आलोपालो प्रधानमन्त्री बनाउने कुरा मौखिक आश्वासनले मात्र नहुने भन्दै लिखित सहमतिको माग गरेका थिए । तर भित्री रूपमा एमाले अध्यक्ष यस कुरामा सहमत नभएकाले नेपाललाई लिखित सहमति दिन सम्भव नभएको बुझिएको छ । यही विषयमा छलफल गर्न एकीकृत समाजवादी आफ्ना नेतृत्व तहमा निरन्तर छलफलमा व्यस्त छ । 

आफ्नो परिवारका सदस्य नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन मात्र कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितका दलहरूसँग नयाँ गठबन्धन बनाउन अग्रसर भएका प्रधानमन्त्री दाहाल यति बेला भने बिलखबन्दमा परेको देखिन्छ । हेटौंडाको सभामा ‘नयाँ उथलपुथल गर्छु’ भनेर आएको दाहालको अभिव्यक्ति तनावको उपज हो भनेर अर्थ लाउन थालिएको छ ।

उपनिर्वाचनसहित ताजा राजनीतिक घटनाको समीक्षा गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । यो बैठकमा राजनीतिक विकास क्रमको प्रतिबिम्ब प्रकट हुने सम्भावना देखिन्छ । 

  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १८:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया