विज्ञ भन्छन्- काेराेना निर्मूल हुँदैन, हैँजा-दादुराझैँ हामीमाझ रहिरहन्छ
गर्मीसँगै बढ्न थाले कोरोना र फ्लुका बिरामी, सर्तकता अपनाउन विज्ञको सुझाव

काठमाडाैंकाे कलंकी बस्ने ६० वर्षीय घनश्याम न्यौपानेलाई एक साताअघि रुघाखोकी र ज्वरोको समस्या देखियो । मौसमी रुघाखोकी लागेको अनुमान गरेर चार दिन उनी घरमै बसे । तर, समस्या थपिँदै गयो । शरीर अत्यधिक दुख्ने, थकित हुने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने र स्वर भासिँदै गएपछि उनी नजिकैको निजी अस्पताल पुगे ।

दमको समस्यासमेत रहेका न्यौपानेलाई परीक्षणको क्रममा मौसमी फ्लुसँगै कोरोना संक्रमण भएको पुष्टि भयो । उनको स्वास्थ्यमा थप जटिलता उत्पन्न नहोस् भनेर स्वास्थ्यकर्मीले उनलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रेफर गरिदिए । 

महाबौद्ध बस्ने हरि मानन्धरलाई पनि करिब एक सातादेखि रुघाखोकी, ज्वरो, सुक्खा खोकी, घाँटी दुख्ने, शरीर र टाउको दुख्नेजस्ता समस्या देखियो । घरमै आराम गरिरहेका उनी पाँच दिनपछि सास फेर्नै गाह्रो हुने, लगातार खोकी लाग्ने र शरीर दुख्ने समस्या देखिएपछि शुक्रबार वीर अस्पताल पुगे । वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पालो कुनुपर्ने देखिएपछि उनलाई सीधै टेकुस्थित शुक्रराज अस्पतालमै लगियो ।

मानन्धरलाई पनि न्यौपानेलाई झैँ मौसमी फ्लुसँगै कोरोना संक्रमण भएको पुष्टि भयो । हाल उनी टेकुस्थित शुक्रराज अस्पतालमै उपचार गराइरहेका छन् । हाल काठमाडौं उपत्यकाभित्र मौसमी रुघाखोकी सँगै कोरोना भाइरस फैलिइरहेको छ । जसले रोग प्रतिरोधात्मक क्षमता कम भएका, वृद्धवृद्धालाई असर गर्ने भएकाले आइसियूमै राखेर उपचार गर्नुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् ।

मौसम परिवर्तनको समय भएकाले फ्लु त हुने नै भयो । तर, पछिल्ला केही सातायता भने कोरोनाका बिरामीको पनि वृद्धि देखिएकाले चनाखो हुनुपर्ने समय रहेको शुक्रराज ट्रपिकल अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् । 

हाल रुघाखोकी र ज्वरोले समुदायस्तरमा प्रकोपको रूप लिँदै गइरहेको छ । धेरैले रुघाखोकी र ज्वरोलाई सामान्य रूपमा लिँदा गम्भीर समस्या देखापरेको डा. शेरबहादुर पुन बताउँछन् ।



डा. पुनका अनुसार समुदायस्तरमा फ्लु र कोराना भाइरस सक्रिय देखिएको छ । ‘मौसम परिवर्तनसँगै फ्लु भाइरस विशेषतः फागुन–चैत महिनामा सक्रिय हुन्छ । यो सामान्य नै हो भनेर बुझ्नुपर्छ । यस्तै, कोरोना पनि अहिले सक्रिय देखिएकाले केही मानिसमा कडा लक्षण देखिएको छ,’ डा. पुनले भने, ‘धेरैजसो व्यक्तिमा निमोनिया हुँदा अक्सिजन दिएरै उपचार गर्नुपर्ने अवस्था पनि छ ।’ 

उनका अनुसार केही सातायता मौसमी रुघाखोकी लागेका मानिसलाई निको हुन धेरै समय लाग्नुले कोरोना भाइरस समुदायस्तरमै रहेको अनुमान गर्न सकिन्छ । हामीमाझ अझै पनि कोरोना भाइरस सक्रिय रहेकाले सतर्कता अपनाउन र खोप लगाउन डा. पुन सुझाउँछन् । 



चिकित्सकका अनुसार कोरोना संक्रमण बढ्न थालेको एकदेखि दुई सातापछि बिरामीको संख्या बढ्न सक्छ । सामान्य ज्वरो आएको र खोकी लागेका धेरै बिरामी परीक्षणको दायरामा नआएकाले आगामी दिनमा संक्रमितको संख्या बढेर अस्पताल भर्ना हुने संख्या बढ्नसक्ने डा. पुनको भनाइ छ । 

हामीमाझ रही नै रहन्छ कोरोना !

कोरोना भाइरस संक्रमित संख्या निरन्तर घटेकाले धेरैले यसलाई बिर्सिन पनि थालेका थिए । तर, चिकित्सकले भने कोरोना भाइरस संक्रमण महामारीकै रूपमा देखा नपरे पनि समाजमा सामान्य रूपमा घुमिरहने जनाएका छन् । 

कोरोना महामारी सुरु भएयतादेखि नेपालमा संक्रमणका कारण १२ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस रोगका लागि स्थापित भइसकेकाले बेला–बेला यसको संक्रमण देखिई नै रहने डा. पुन बताउँछन् । 

'कोरोना रुघाखोकी, हैजा वा दादुराजस्तै गरी हामीमाझ रही नै रहन्छ । हामीले कोरोनाकालमा अपनाएका जनस्वास्थ्यका मापदण्ड अपनाइराख्नुपर्छ,’ डा. पुन भन्छन्, ‘कोरोनाका नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन कोरोनाविरुद्धको खोप लगाउनुपर्छ । यसका साथै दीर्घरोगी, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम रहेका मानिसले स्वास्थ्यको विशेष ख्याल राख्न जरुरी छ ।’

डा. पुनका अनुसार कोरोनाका नयाँ भेरियन्टको जोखिम सधैँ रहन्छ । डा. पुन भन्छन्, ‘कोरोनासँग सतर्क रहनुपर्छ । ‘फ्लु र कोभिड सम्भवतः केही हप्ता समुदायमा निरन्तर देखिन सक्ने भएकाले आफ्नो स्वास्थ्यप्रति सजग हुने प्रयास गर्नुपर्छ ।’ फ्लु र कोभिडको लक्षण उस्तै–उस्तै हुने भएकाले स्वास्थ्यमा समस्या देखिएमा परीक्षण गराइहाल्न पनि उनले सुझाब दिए । साबुन–पानीले हात धुने, मास्क लगाउनेजस्ता सावधानीका उपाय अपनाउँदा कोरोनाका साथै अन्य रोग लाग्नबाट पनि सुरक्षित हुने भएकाले यी सावधानी सधैँ अपनाउनुपर्ने उनले बताए ।

नेपालको इतिहास हेर्दा पनि हैजा, क्षयरोग, एचआइभी, बिफर, इन्फ्लुएन्जा, दादुरालगायत सरुवा रोग देखिएका छन्, जसले अहिले पनि फाट्टफुट्ट सताउने गरेको छ । विज्ञहरूका अनुसार नेपालमा साधारण रुघा–खोकीजन्य फ्लुका कारण बर्सेनि हजारौँको मृत्यु हुने गरेको छ । यस अर्थमा पनि कोरोना महामारीको अन्त्यको अनुमान गर्न नसकिने र नयाँ–नयाँ भेरियन्टको जोखिम कायम नै रहने विज्ञको तर्क छ ।

  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १८:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया