डा. मैनालीसँग संवाद : शरीरको बोसो एकपटकमा ३-४ किलोसम्म निकाल्न सकिन्छ

सुन्दर देखिन जो पनि चाहन्छ । कुनै दुर्घटनामा परेर भएकादाग हटाउन गरिने उपचारलाई अपवादमान्ने हो भने त्वचा कसरी सुन्दर बनाउने र के गर्दा आफू राम्रो देखिन सम्भव छ भनेर उपायखोज्ने मानिसहरु धेरै छन् । शरीरको बोसो घटाउनेदेखि सर्जरी गरेर अनुहार राम्रो बनाउन चाहने धेरै छन् । थरीथरीका रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोग बढेका बेला चिकित्सकको सल्लाह लिने चेतना पनि बढ्दै छ । सुन्दर देखिन गरिने सामान्य मेकअपदेखि प्लाष्टिक सर्जरीसम्मको क्षेत्रमा सर्वसाधारणको बुझाइ र चिकित्सकीय दृष्टिकोणका विषयमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. सुयोग मैनालीसँग गरिएको संवाद 

अहिले प्रविधिले प्रकृतिलाई नै चुनौती दिएको छ । प्रकृतिको विपरीत गएर सुन्दर देखिनकै लागि हामी जेजे गर्छौं त्यो दीर्घकालीन रुपमा स्वास्थ्यलाई हानिकारक छ कि छैन?

प्रकृतिलाई चुनौती दिएर आफूलाई अझ बढी सुन्दर बनाउने हाम्रा गतिविधि परापूर्वकालदेखि नै चलिरहेको छ । तीन–चार हजार वर्षपहिला रोममा लिपिस्टिकको प्रयोग भएको थियो । गाजल लगाउने, आदिवासीहरुले जिउमा ट्याटुहरु खोप्ने धेरै पहिलादेखि चलिआएको चलन हो । अहिलेको मोर्डन मेडिकल विज्ञानले त्यसलाई अझ बढी परिष्कृत गरेर सकेसम्म स्वास्थ्यमा हानि नहुने गरेर, लामो अनुसन्धानहरु गरेपछि मात्रै अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको उपचारहरु भइरहेका हुन्छन् । त्यसैले समग्र स्वास्थ्यमा त्यसले हानि गर्दैन । 

अहिले विभिन्नखालका फिलरहरु गर्ने गरिन्छ । त्यसैगरी गोरो बनाउनलगायत अन्य कामका लागि प्रयोग गरिने सूईहरुले दीर्घकालीन रुपमा काम गर्छ कि गर्दैन ? यसको प्रभाव के हुन्छ ?

फिलर कुनै ठाउँमा खाल्डो परेको छ भने त्यस्तो स्थानमा भर्ने एउटा ह्यालुरोनिक एसिड भन्ने तत्त्व हो । जुन आफ्नो शरीरमा पनि पाइन्छ । त्यसैको डेन्स फर्मलाई फिलर्स भन्छौँ र त्यसको प्रयोग गर्छौं । दीर्घकालीन रूपमा यसले खासै हानि गर्दैन । बिस्तारै बिस्तारै शरीरले आफैं सोसेर लान्छ । साधारणतया एकदेखि डेढ वर्षका लागि काम गर्छ । यसको साथै दीर्घकालीन रुपमा समाधान गर्नका लागि बोसोहरु निकालेर गर्ने विधि पनि छ । फिलर जस्तै काम गर्ने तरिकाले आफ्नै शरीरको बोसो निकालेर एउटा ठाउँबाट अर्को ठाउँमा हाल्दा पनि दीर्घकालीन हुन्छ । 

गोरो बनाउन अन्य इन्जेक्सनहरु अथवा कपाल उमार्ने सुईहरु प्रयोग गर्ने गरिन्छ । तिनीहरु फिलर्स नभएर आफ्नै रगतबाट ग्रोथ फ्याक्टर्सहरु छुट्याएर हाल्ने विधि हो । जसले कपालको वृद्धि विकास, पहिलाको भन्दा बाक्लो होस् भनेर यस्तो विधि अपनाइन्छ । यो भने दीर्घकालीन समाधान होइन । 



शरीरमा रौँ हुनु प्राकृतिक नै हो, तर कसैको शरीरमा आवश्यकभन्दा बढी नै हुन्छ, यसको कारण के हो ?

त्यसको कारण सबैभन्दा पहिला वंशाणुगत नै हुन्छ । जस्तो बाहुन, क्षेत्रीहरुको अलि बढी रौँ पलाउँछ भने मंगोलियनहरुको अलि कम पलाउने हुन्छ । तर, पनि महिलामा अझ बढी रौँ पलाउने कारण हर्माेनको मात्रा बढी भएर पनि हो । पाठेघरको समस्या पोलिसिस्टिक ओभरी सिन्ड्रोमहरु भएको कारणले पनि बढी पलाउने हुनसक्छ । जे कारणले बढी विकास भएको भए तापनि त्यसको समाधानहरु हामीसँग छ । 



यसको समाधानको कुरा गर्दैगर्दा हाम्रो छालामा रहेका कोषिकाहरुमा असर गर्छ भन्ने धारणा छ, यो कतिको सत्य हो ?

लेजरबाट रौँ दीर्घकालका लागि हटाउने तरिका सन् १९७०/८० देखि चलिआएको हो । यसबाट दीर्घकालीन क्यान्सर हुने अथवा छालाको कोषिकाहरुलाई फरक पर्ने भन्ने खालको कुरा अनुसन्धानहरुले पनि भेटाएको छैन । कहिलेकाहीँ हुनसक्ने भनेको कालो रंगको छालामा लेजरहरु गर्दा पावरहरु मिलेर, हाइपावर भयो भने त्यो ठाउँमा सेतो दाग बस्ने जस्ता नकारात्मक प्रभाव भने हुनसक्छ । त्यसकारण यो प्रविधिको प्रयोग गर्दा अनुभवी डाक्टरहरुसँग मात्रै गराउनुपर्छ । 
सौन्दर्यको लागि विभिन्न केमिकलहरु बजारमा सजिलै भेटिन्छ । 

हस्पिटलमा गएर डाक्टरको सल्लाहबाट प्रयोग गर्नु र प्रचारमा आएका सामानप्रयोग गर्नुमा के फरक छ, कतिको असर हुन सक्छ?

बजारमा आएका केमिकलहरुले एकदम ग्यारेन्टीका साथ काम गर्छ र एकदम छिटो ठिक गराउने भनेर सुरुमा हेर्दा कति राम्रोसँग चाया–पोतो सफा भयो भन्ने हुन्छ । तर, बिस्तारै यसले छालालाई पातलो बनाउँदै लान्छ । अनुहारको भित्रसम्मको सबै भाग देखिएर अनुहार रिकभर नहुने समस्या आउन सक्छ । वा रातो बनाएर छाड्छ । हामीले त्यस्तो सामानहरु प्रयोग गर्दा सुरुमा कडा खालको, त्यसपछि अलिकम र अन्त्यमा नकारात्मक केमिकलहरु नभएका वस्तु प्रयोग गर्ने भनेर तहगत प्रक्रियामा गर्नुपर्छ । त्यसको ज्ञान भने बजारमा पाइँदैन । जसका कारणले छालाहरु बिग्रिने गर्छ । 

अहिले पार्लरहरुमा पनि सौन्दर्य स्वास्थ्यको उपचारहरु गरिन्छ । जुन अस्पतालहरुमा गर्नुपर्ने उपचार हो त्यो पनि गर्ने गरिन्छ । त्यो कतिको राम्रो छ कि हानिकारक छ ?

पार्लरहरुले मानिसलाई सुन्दर बनाउने काम त गर्ने नै हो । तर यसमा एउटा समस्या ज्वलन्त रुपमा आउने गर्छ । मेडिकल सुपरभिजनमा हुनुपर्ने प्रक्रियाहरु नहुन सक्छन्  । लेजर, केमिकलपिलजस्ता कामहरु पार्लरले नै गर्न थालेको कुरा मैले धेरै सुनेको छु । त्यो पनि सस्तो मूल्यमा । त्यो गुणात्मक हुँदैन, त्यसमा ज्ञान हुँदैन । त्यसपछि छाला बिग्रिसकेपछि बल्ल डाक्टरकहाँ ठिक गराउनको लागि भनेर आउनुहुन्छ । त्यसैले पार्लरहरुलाई एकदमै कडाइ गर्नुपर्छ । पार्लरमा यतिसम्मको काम मात्रै गर्न पाइन्छ भनेर मापदण्ड बनाउनुपर्छ । पार्लरमा बढी मापदण्डभन्दा बढी गरियो भने छालालाई असर गर्छ भन्ने बुझ्नपर्छ । रगत, केमीकल, लेजरहरुबाट गरिने उपचारहरु पार्लरहरुले गर्न नपाउने नै हो । त्यो गैरकानुनी पनि हो । त्यसलाई नियमन गर्न अहिलेसम्म नेपाल सरकारले सकेको छैन । 

हाइड्रा फेसियल भन्ने एउटा फेसियल छ, त्यो पनि डाक्टरहरुको परामर्शमा मात्रै गर्ने हो कि पार्लरमा पनि गर्दा हुन्छ ?

हाइड्रा फेसियलमा भने कुन प्रकारको हाइड्रा फेसियल गरियो, त्यसमा भर पर्छ । सामान्य केमिकल प्रयोग गरेर बाहिरको एउटा लेयरमा मात्रै सफा गर्ने काम गर्नु हुन्छ भने त्यो पार्लरहरुले गर्दा पनि त्यस्तो हानि हुदैन । तर, जब यसमा कमसल सामानहरु, कडा केमिकलहरु प्रयोग गर्न थालिन्छ अथवा रेडियो फ्रिक्वेन्सी ह्यान्ड पिसहरु, अल्ट्रासाउन्डको ह्यान्ड पिसहरु प्रयोग गर्न थालिन्छ, एउटै हाइड्रा फेसियलमा नौवटा ह्यान्ड पिससम्म आउँछ ।

अहिले त्यो प्रकारको प्रयोग गर्दा पूरै नर्भ ड्यामेज हुनेदेखि मुख बांगो हुने समस्याहरु देखिन्छ । यसको साथै छाला पातलो हुनेलगायतका धेरै प्रकारका समस्याहरु आउँछन् । त्यसैले एकदमै सामान्य हाइड्रा फेसियल पार्लरले गर्दा त्यति छाला बिग्रिने डर हुँदैन । तैपनि सकेसम्म मेडिकल सुपरभिजनमै हाइड्रा फेसियल गराउँदा राम्रो हुन्छ । यस्तो कुरा सबैले बुझ्नुपर्यो । यदि कुनै ठाउँमा धेरै नै सस्तोमा केही उपचारहरु भइरहेको छ, असक्षम मानिसले गरिरहेको छ भने त्यस्तो स्थानमा नजाँदा नै राम्रो हुन्छ । 

नेपालमा सौन्दर्य स्वास्थ्यको विकास बाहिरको तुलनामा त्यस्तो धेरै भएको छैन । यससम्बन्धी उपचार गराउन आउनेहरुमा कत्तिको ज्ञान छ ?छाला बिग्रिसकेपछि आउनेको संख्या बढी छ कि पहिला नै आउनेको संख्या बढी छ?

२०१२ मा मैले जब नेपालको पहिलो कस्मेटिक सर्जरी क्लिनिकको सुरुवात गरेँ, त्यो बेला नेपालमा सौन्दर्य चिकित्सासम्बन्धी जनचेतना पनि थिएन । त्यो बेला मानिसलाई बुझाउन साह्रै गाह्रो हुन्थ्यो । यस्तो पनि उपचार हुन्छ भनेर बुझ्न नै नचाहनेहरु थिए । तर अहिले बिस्तारै धेरै क्लिनिकहरु पनि खुल्न थाले । धेरै डाक्टरहरुले यो सम्बन्धी शिक्षा पनि हासिल गर्नु भएको छ । त्यसकारणले अहिले जनचेतना पहिलाको भन्दा धेरै गुना माथि भइसकेको छ । अहिले मध्यम वर्गसम्मले, अलिअलि पढाइ राम्रै भएको परिवारको मानिस सुरुमा नै दक्ष मेडिकल डाक्टरकोमा नै जानुपर्छ । उपचारको लागि भनेर मात्र सीधै हामीकहाँ आउनुहुन्छ । यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् । 

पहिला महिला ९० प्रतिशत हुन्थे भने अहिले ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष आउने अवस्था भइसकेको छ । जसले पुरुषहरुलाई पनि आफ्नो सौन्दर्यप्रति चेतना बढिरहेको जस्तो देखिन्छ । यसका साथै पछिल्लो १०÷१२ वर्षमा विदेशिने नेपालीहरुको संख्या पनि धेरै भएको र बाहिर नै धेरै प्रकारको कस्मेटिक सर्जरी र उपचारहरु देखेर चेतना बढेर नेपालमा भएका परिवारहरुलाई पनि यस्तो उपचार हुने रहेछ यो ठाउँमा जानु भनेर पठाउनुहुन्छ । डाक्टरकोमा जानुभन्दा अगाडि नै उपचारको बारेमा आफैंले नै बुझेर आउने बिरामीहरुको संख्या बढ्दो क्रममा छ । 

अहिले प्रायः महिलामा देखिने समस्या भनेको चाया–पोतोको हो । यसको मुख्य कारण के हो ? यसको उपचार पूर्ण रूपमा नै हुनसक्छ वा हुँदैन?

चाया मुख्य तीनवटा कारणले आउँछ । एउटा घाम र धेरै तापक्रमको कारणले आउँछ । अर्को वंशानुगत जिनले आउँछ र अर्को हर्मोनको कारणले हुन्छ । जस्तै, गर्भवती हुँदा हर्मोन तलमाथि हुँदा आउने गर्छ । यो एकचोटि आएपछि पूर्ण रुपमा निको हुन लगभग असम्भव नै छ । एकपटकको लागि हटाउन सक्छौं । विभिन्न प्रकारका उपचारहरु गरेर खाने औषधि, लगाउने औषधि, लेजर, केमिकलपिल गरेर सफा गर्न सक्छौँ । तर, त्यसपछि त्यसलाई मेन्टेन गर्न सकिएन, लापरबाही गरिया भने फेरि छिटै फिर्ता आउने सम्भावना  छ । 

त्यसैले उपचार गरेर मात्र हुँदैन । यसको दीर्घकालीन रुपमा हेरचाह पनि गर्नुपर्छ । जस्तै, डाइबिटिज भएको मानिसले आफ्नो सुगरलाई नियन्त्रणमा राख्नुपर्छ । त्यसैगरी यसलाई नियन्त्रणमा राख्नको लागि हेरचाह गर्नुपर्छ । 

यसको लागि खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ ?

खानपानभन्दा पनि घाम र हिटको प्रभावबाट बच्नुपर्छ ।

शरीरको विभिन्न अंगबाट बोसो तानेर गरिने एकखालको लेजरहरु पनि आइरहेको छ । यो केका लागि र कसरी गरिन्छ ?

बोसो पगाल्ने लेजर भनेर विभिन्न प्रकारका हुन्छन् । कुनै विनाअपरेसन बाहिरैबाट लेजरको लाइट, अल्ट्रा साउन्ड वेबहरु पास गरेर गर्ने विधिहरु पनि छन् । त्यो दीर्घकालीन समाधान होइनन् । जुन हामी सर्जरी गरेर गर्छौं । त्यो पनि विभिन्न प्रकारका हुन्छन् ।सबैको परिणाम उस्तै नै हो हुन त तर हामीले प्रयोग गरिरहेको लेजर असिस्टेड लिपोसक्सन भनिन्छ । जसलाई स्मार्ट लिपोसक्सन पनि भनिन्छ । 

यसमा एउटा सानो प्वाल बनाएर लेजरको फाइबर भित्र छिराएर पहिला बोसोलाई पगालिन्छ । त्यसपछि एउटा मसिनो पाइपभित्र छिराएर जुन एरियाको बोसो घटाउन गइरहेका छौँ त्यो बोसोलाई भ्याकुममार्फत तानेर बाहिर निकाल्छौँ । जुनबोसो हामीले निकाल्छौँ, त्यो पछि कहिले पनि लाग्दैन । जति खाए पनि बोसो निकालेको भागमा कहिले पनि बोसो लाग्दैन । 

अर्को एउटा गलत विचार के छ भने यो तौल घटाउनको लागि हो भन्ने गलत धारणा छ । तौल घटाउनका लागि होइन । हामीले एकपटकमा ३/४ केजीसम्म बोसो निकाल्न सक्छौँ । तर यो शरीरको आकार मिलाउनका लागि हो ।

यसको उपचारको क्रममा कतिको दुखाइ हुन्छ र खतरा कतिको हुन्छ ?

यो उपचार हामीले बेहोस नगराईकन गर्छौं । यो एकदमै सुरक्षित प्रक्रिया हो । यो सर्जरी भएपछि तुरुन्तै घर जान पनि मिल्छ । बेहोस बनाएर गर्दा अझ बढी समस्या आउन सक्छ । अथवा शरीरमा ५/६ लिटरभन्दा बढी बोसो एकैपटक तान्ने प्रयास गर्यो भने समस्याहरु आउन सक्छ । सामान्यतया यसमा समस्याभन्दा पनि सर्जरी गरेको स्थानमा सुन्निने, नीलो बस्ने एक–दुईमहिनासम्म सबैलाई हुने नै हो । त्यसपछि ठिक हुन्छ । 

यो स्तनको सन्दर्भमा सन्तान भएकाले मात्र गर्न मिल्ने हो कि नभएकाले पनि गर्न मिल्छ ?

सबैले मिल्छ । यसले पछि स्तनपानमा अथवा बच्चा जन्माउनमा केही पनि हानि गर्दैन । यसबाट क्यान्सरहरु बन्ने पनि हुँदैन । 

यो प्रक्रियाले शरीरको सेप नै बिग्रिने भन्ने कुरा पनि कतै सुन्न सकिन्छ, यो के हो ?

यसबाट सेप बिग्रिने होइन, झन राम्रो हुन्छ । अर्को यो प्रक्रियाबाट गइसकेको मानिसले धेरै खाएर, ज्यानको ख्याल नगर्ने हो भने बोसो निकालेको स्थानबाहेक अन्य स्थानमा बोसो लाग्ने नै हुन्छ । त्यो कारणले पनि कसैको शरीर बिग्रिने हुन सक्छ । यो एकदमै कमै केस हो, यसमा आफ्नो खानपिनको बानीलाई नियन्त्रण गर्न सक्नुपर्छ । 

अन्त्यमा मैले जहिले भन्ने गरेको सस्तो भनेर अथवा अफर पछि नलाग्नु । राम्रोसँग बुझेर आफ्नो उपचार गर्नुपर्छ । मानिसको क्षमता केहो, सबै कुरा बुझेर राम्रो ठाउँमा गएर उपचार गर्नुपर्छ । डाक्टर भएको ठाउँमा गएर उपचार गर्नु राम्रो हुन्छ । बिग्रिसकेपछि सुधार गर्न गाह्रो हुन्छ । त्यसकारण बिगार्न नदिने हिसाबले उपचार गरौं । (नेपाल न्युज बैंक)

  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार २२:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया