कांग्रेसको माग : सहकारी ठगीमा लामिछानेसँगै मन्त्री अर्यालमाथि पनि छानबिन गरियोस्
उपप्रधान तथा गृहमन्त्री लामिछाने र श्रममन्त्री अर्याल, फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ ।

कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सो पार्टी सबै सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई समय दिए । उनले सरकार पुनः गठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको सङ्कट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औंल्याए ।

सांसद यादवले लामिछाने सञ्चारकर्मीका रूपमा आबद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट ८० करोड रुपैयाँ ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे ।

सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे । उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट गरे ।

उनले सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आम नागरिकप्रति आशा सिर्जना गर्न आग्रह गरे । तत्पश्चात सभामुख घिमिरेले उठेका विषयमा आफ्नो र संसदको ध्यान गएको अवगत गराए । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १२:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया