आयरल्याण्ड र नेपाल ‘ए’ को पहिलो वानडे आज, यस्तो छ सम्भावित प्लेइङ–११
फाइल तस्बिर

नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्स टी–२० पछि आजदेखि एकदिवसीय सिरिज खेल्दै छन् । यी दुई टिमबीचको एकदिवसीय सिरिजको पहिलो खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

नेपाल टी–२० सिरिज गुमाएको बदला वानडेमा लिने दाउमा छ । यद्यपि आयरल्याण्डलाई हराउँदै सिरिज जित्न नेपाल ‘ए’ लाई सहज छैन । नेपालले टी–२० सिरिजका क्रममा कमजोर बलिङ गर्‍यो । साथै, उक्त श्रृंखलामा नेपालका दुई/तीन ब्याटरबाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन ।  

सोमबार सकिएको सो तीन खेलको सिरिजमा नेपालका लागि आरिफ शेख, लोकेश बम र देव खनालले मात्र राम्रो ब्याटिङ गरे । अन्य ब्याटर नचल्दा आयरल्याण्डले फाइदा उठायो । र, नेपाल दुई खेलमा जित नजिक पुग्दा पनि कमजोर फिनिसिङका कारण पराजित भयो । यद्यपि तेस्रो खेलमा भने नेपालले फिनिसिङ राम्रो गर्‍यो । तर, ओपनिङमा चाहिँ नेपाल चुक्यो ।

नेपाल ‘ए’ अब टी–२० मा गरेको गल्तीमा सुधार गर्दै वानडे सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । पाहुना टिम आयरल्याण्ड वुल्भ्स टी–२० पछि अब वानडे श्रृंखला पनि जितेर घर फर्किने योजनामा छ । उसले टी–२० सिरिजमा पहिलो र दोस्रो खेल क्रमशः २१ र ४० रनले जितेको थियो । आयरल्याण्ड अन्तिम खेलमा भने तीन रनले पराजित भयो । 

आयरल्याण्डले टी–२० सिरिज खेलेकै टोलीलाई एकदिवसीयमा निरन्तरता दिएको छ । यता नेपाल ‘ए’ को वानडे टिममा धेरै परिवर्तन छ । टी–२० टोलीमा रहेका विनोद भण्डारी, आरिफ शेख, देव खनाल, कमल सिंह ऐरी, बसिर अहमद र विकास आग्रीले मात्र वानडे टिममा छन् ।



वानडे सिरिजको पहिलो खेलमा नेपालको ओपनिङ अर्जुन कुमाल र देव खनालले गर्नेछन् । यस्तै, तेस्रोमा भीम सार्की, चौथोमा अर्जुन साउँद, पाँचौंमा विनोद भण्डारी, छैटौँमा आरिफ शेख, सातौँमा बसिर अहमद, आठौँमा कमल सिंह ऐरी, नवौँमा साहब आलम, दशौँमा रिजन ढकाल र ११औँ स्थानमा मौसम ढकालले मौका पाउन सक्छन् ।

पहिलो खेलमा विकास आग्री, नरेन भट्ट, रूपेश सिंह र रञ्चित कुमारले भने मौका पाउने सम्भावना कम छ ।   



  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ६:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया